क्रिकेटखेल

इंग्ल्यान्ड सुपर–८ मा अपराजित रहँदै सेमिफाइनलमा, न्युजिल्यान्ड चार विकेटले पराजित

आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा इंग्ल्यान्ड अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै इंग्ल्यान्ड अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले २८ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ३९ रन बनाए भने टिम शेफर्टले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडे ।

त्यस्तै फिन एलेनले २९ रन जोड्दा मार्क चाम्पम्यानले १५, कोल म्याक्कोन्चीले १४ र रचिन रविन्द्रले ११ रन बनाए । इंग्ल्यान्डका लागि आदिल राशिद, विल ज्याक्स र रेहान अहमदले समान दुई-दुई विकेट लिए भने लियाम डसनको भागमा एक विकेट रह्यो । न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य इंग्ल्यान्डले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको लागि टम ब्यान्टनले २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए बने विल ज्याक्सले १८ बलमा चार चौका र एक छक्काको मद्दतमा ३२ रनमा अविजित रहे । यस्तै कप्तान ह्यारी ब्रुकले २६ रन जोड्दा साम करनले २४ ज्याकोब बेथलले २१ र रेहान अहमदले १९ रन बनाए ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले तीन विकेट लिए भने म्याट हेनरी, लोकी फोर्गुसन र ग्लेन फिलिप्सको भागमा समान एक-एक विकेट रह्यो ।जितसँगै इंग्ल्यान्ड तीन खेलमा चा अंक जोड्दै शीर्ष स्थानमा छ भने समान खेलमा तीन अंक जोडेको न्युजिल्यान्ड दोस्रो स्थानमा छ । न्युजिल्यान्डले अब सेमिफाइनलको निम्ति पाकिस्तान र श्रीलंकाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.