क्रिकेटखेल

यूएईद्वारा नेपाल सामू जितको लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत

यूएईविरुद्धको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको दोस्रो तथा अन्तिम खेलमा यूएईले नेपाल सामू जितको लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो । यूएईको लागि अक्षदीप नाथले अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले भने मुहम्मद अरफानले ३२ रन बनाए । त्यस्तै अदीब उस्मानीले ३० रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखाबिया रहेन ।

नेपालको लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने हेमन्त धामीले दुई विकेट लिँदा नन्दन यादव र शाहब आलमको भागमा समान एक-एक विकेट रह्यो ।

सोमबार भएको पहिलो खेलमा नेपाल ‘डिएल मेथड’का आधारमा यूएईसँग छ विकेटले पराजित भएको थियो । दुई खेलको सिरिजमा यूएई १-० ले अघि रहेको छ । नेपाललाई सिरिजलाई बराबरी गर्ने आजको खेल जित्नै पर्ने वाध्यता छ ।

नेपालमा लिग–२ पूर्व टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी विश्वकप लिग-२ अन्तर्गत मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला नेपालमै हुनेछ ।

हेड टु हेड हेर्ने हो भने नेपाल र यूएईले हालसम्म टी-२० आईमा १२ पटक भिडेका छन् । जसमा नेपाल छ खेलमा विजयी हुँदा यूएईले पनि छ खेलमा जित हासिल गरेको छ ।

नेपालमा पहिलो पटक फ्लड लाइटमा अन्तरराष्ट्रिय खेल खेलेको हो । यद्यपि यसअघि घरेलु प्रतियोगिता एनपिएल भने फ्लड लाइटमा खेलाइएको थियो । विश्वकपपछि नेपाली टोलीले अन्तरराष्ट्रिय खेल खेलेको हो । नेपाल र यूएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप खेलेर आएका हुन् ।

यूएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए । नेपालको प्लेइङ ११ मा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, शाहब आलम, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, हेमन्त धामी र लोकेश बम रहेका छन् । यस्तै यस खेलबाट अलराउण्डर सन्तोष यादवले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.