संस्कृति

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ । मंगलबार पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्‍याइएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार आज पुलचोकबाट रथ तानेर गाबल पुर्‍याइएको हो ।

गुठी संस्थानका अनुसार मंगलबार रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाबलसम्म ल्याइएको हो । बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो रथ पछि लाग्नेछ ।

रथ गाबल, सुन्धारा, लगनखेल हुँदै ठटीटोल पुर्‍याइनेछ । ठटीटोलमा पुगेपछि जात्राको पहिलो चरण सम्पन्न हुने मच्छिन्द्रनाथ मृदङ्ग भजनमण्डलका सदस्य प्रद्युम्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लगनखेलबाट करिब सय मिटर अगाडि रथ तानेर पोडेटोलमा नरिवल फुटाउने र त्यसको भोलिपल्ट महिलाले रथ तान्ने परम्परा रहेको छ ।

ठटीटोलमा रथ विश्राम गरेपछि बिहीबार पात्रो हेरिन्छ र तिथिअनुसार एकदेखि करिब दुई महिनासम्म रथ त्यहीँ रहन सक्छ । त्यसपछि तिथिअनुसार रातो मच्छिन्द्रननाथको रथलाई पश्चितर्फ तानिन्छ । कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्‍याएको चौथो दिन ‘भोटो देखाउने’ प्रचलन रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.