ट्रम्प: चाटुकारहरुबाट घेरिएका स्वघोषित एक ‘देवता’
मैले “अमेरिकन फासिस्ट: द क्रिस्चियन राइट एण्ड द वार अन अमेरिका” लेख्न बिताएका दुई वर्षको अवधिमा धेरै ‘साना ट्रम्प’हरू भेटेँ। यी आफैंले घोषित गरेका पादरीहरू—जसमध्ये थोरैसँग मात्र औपचारिक धार्मिक तालिम थियो—आफ्ना अनुयायीहरूको निराशाको फाइदा उठाउँथे।
तिनीहरू चाटुकारहरूले घेरिएका हुन्थे र उनीहरूलाई कसैले प्रश्न गर्न सक्दैनथे। उनीहरू तथ्य र कल्पनालाई मिसाउँथे, काल्पनिक सोच बेच्थे र आफ्ना अनुयायीहरूको खर्चमा आफूलाई धनी बनाउँथे।
उनीहरू आफ्नो भव्य जीवनशैली, बंगला र निजी जेट विमानहरूलाई “ईश्वरको आशीर्वाद” को रूपमा दाबी गर्थे। तिनीहरू आफू ईश्वरीय प्रेरणा प्राप्त र भगवानद्वारा छानिएको दाबी गर्थे। आफ्ना ‘मेगाचर्च’ (विशाल चर्च) हरूको घेराभित्र तिनीहरू सर्वशक्तिमान् थिए।
यी गुट-पादरीहरूले आफ्ना अनुयायीहरूको जीवनमा दुःख पैदा गर्ने “राक्षसी शक्तिहरू”—बेरोजगारी, गरिबी, निष्कासन, टाट पल्टिनु, दुर्व्यसनी, यौन र घरेलु दुर्व्यवहार, र गहिरो निराशा—लाई आफ्नो शक्तिले कुल्चिने वाचा गर्थे।
अनुयायीहरूको नजरमा नेतासँग जति धेरै शक्ति हुन्छ, स्वर्गको बाचा उति नै सुनिश्चित हुन्छ। यस्ता नेताहरू कानुनभन्दा माथि हुन्छन्। उनीहरूमा अन्धविश्वास राख्नेहरू पनि उनीहरू कानुनभन्दा माथि नै होउन् भन्ने चाहन्छन्।
गुट-नेताहरू आत्ममुग्ध हुन्छन्। उनीहरूलाई पूर्ण आज्ञाकारिता र चाकडी चाहिन्छ। रोबर्ट एफ केनेडी जुनियरले ट्रम्पले मध्य पूर्वको “पूर्ण नक्सा” कोर्न सक्छन् भन्नु वा ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेविटले ट्रम्प सधैं “कोठाको सबैभन्दा धेरै पढ्ने व्यक्ति” हुन् भन्नु यसका उदाहरण हुन्। यस्ता गुटमा क्षमताभन्दा बढी अन्धभक्तिलाई महत्त्व दिइन्छ।
गुट-नेताहरू आफ्ना अनुयायीहरूका बीचमा तर्कपूर्ण र तथ्यमा आधारित आलोचनाबाट मुक्त हुन्छन्। यसैकारण ट्रम्पका कट्टर समर्थकहरूले उनलाई छोडेका छैनन् र छोड्ने पनि छैनन्।
हरेक ‘कल्ट’ (गुट) व्यक्तित्वको वरिपरि घुम्छ। यो नेताको पूर्वाग्रह, विश्वदृष्टि र व्यक्तिगत शैलीको विस्तार हो। ट्रम्प आफ्नो सुनौलो र चम्किलो ‘रोकोको’ शैलीको सजावटमा रमाउँछन्।
उनको टोलीका महिलाहरू ‘मार-ए-लागो फेस’—धेरै मेकअप, बोटक्स र कृत्रिम सुन्दरता—मा देखिन्छन्। पुरुषहरू सन् १९५० को दशकका विज्ञापन कार्यकारीहरू जस्तै देखिन्छन्। गुटहरूले नेताको स्वाद अनुसारको पोशाक र नियमहरू लागू गर्छन्।
जिम जोन्सले जस्तै, जसले आफ्ना ९०० भन्दा बढी अनुयायीहरूलाई विष पिलाएर सामूहिक आत्महत्या गर्न बाध्य पारेका थिए, ट्रम्पले पनि हाम्रो सामूहिक विनाशको बाटो रोजिरहेका छन्। ट्रम्प जलवायु संकटलाई ‘भ्रम’ भन्छन्। उनी परमाणु हतियार सम्झौताहरूबाट पछि हट्छन्, रुस र चीन जस्ता शक्तिहरूलाई चिढ्याउँछन्, र आफ्ना सहयोगीहरूलाई अपमान गर्छन्।
लेखको अंग्रेजी संस्करण पढनका लागि यहाँ क्लिक गर्नुहोस्
उनी मुस्लिमहरू विरुद्ध ‘धर्मयुद्ध’ को कुरा गर्छन् र आफ्ना राजनीतिक विरोधीहरूलाई ‘शत्रु र गद्दार’ भन्छन्। उनी सामाजिक कार्यक्रमहरू कटौती गर्छन् र सुरक्षा संयन्त्रलाई जनतालाई आतंकित पार्न प्रयोग गर्छन्। गुटहरूले रक्षा गर्दैनन्; उनीहरूले विनाश र दमन गर्छन्।
मनोचिकित्सक रोबर्ट जे लिफ्टनले यसलाई “विश्व-विनाशकारी गुट” भनेका छन्, जसका आठ विशेषताहरू ट्रम्पको राजनीतिमा देखिन्छन्:
१. परिवेश नियन्त्रण: सञ्चारमा पूर्ण नियन्त्रण।
२. भाषाको हेरफेर: आलोचना रोक्न निश्चित शब्दावलीको प्रयोग।
३. शुद्धताको माग: “हामी विरुद्ध उनीहरू” को धारणा। विरोधीहरूलाई ‘दुष्ट’ र ‘नष्ट गर्नुपर्ने’ मानिन्छ।
४. स्वीकारोक्ति: विगतका गल्तीहरूको सार्वजनिक स्वीकारोक्ति (जस्तै जेडी भ्यान्सले पहिले ट्रम्पको आलोचना गरेकोमा माफी मागे)।
५. रहस्यमय हेरफेर): आफूलाई ‘विशेष उद्देश्यका लागि छानिएको’ ठान्ने।
६. व्यक्तिको सट्टा सिद्धान्त: ट्रम्पको वास्तविकता अनुसार इतिहास र तथ्यहरूलाई बङ्ग्याउने।
७. पवित्र विज्ञान: ट्रम्पका अव्यावहारिक कुराहरूलाई पनि वैज्ञानिक भनेर प्रस्तुत गर्ने।
८. अस्तित्वको खारेजी: गुट बाहिरका मानिसहरूलाई ‘मूल्यहीन’ मान्ने।
ट्रम्प विगतका अन्य कुख्यात गुट-नेताहरू (जस्तै डेभिड कोरेस, सन म्युङ मुन) भन्दा फरक छैनन्। यस्ता नेताहरू भित्रैबाट असुरक्षित हुन्छन्, जसलाई उनीहरू क्रूरता र अहंकारले लुकाउँछन्। उनीहरू परजीवी, अनैतिक र भावनाहीन हुन्छन्।
उनीहरूको भाषा अन्योलमा आधारित हुन्छ। उनीहरू झुट बोल्छन्, षड्यन्त्रका सिद्धान्तहरू फैलाउँछन् र आफ्नै भनाइहरूको खण्डन गर्छन्। उनीहरूको उद्देश्य सत्य भन्नु होइन, बरु अनुयायीहरूको भावनात्मक आवश्यकतालाई सम्बोधन गर्नु हो।
हिटलरले पनि आफ्ना शत्रुहरूलाई सधैं अन्योलमा राख्थे। तार्किक कुरालाई तर्कले काट्न सकिन्छ, तर अतार्किक कुराले मानिसलाई अलमलमा पार्छ। ट्रम्पले कति झुट बोले वा उनले कति सम्पत्ति कमाए भन्ने कुराले उनका समर्थकहरूलाई फरक पर्दैन।
परम्परागत राजनीतिक शक्ति र डेमोक्र्याटिक पार्टीले ट्रम्पका समर्थकहरूमाथि प्रभाव पार्न सकेका छैनन् किनभने उनीहरूले श्रमिक वर्गलाई धोका दिएका छन्।
जबसम्म जनताको पक्षमा ठूला आन्दोलनहरू उठ्दैनन्, यो राजनीतिक संकट समाधान हुनेछैन। तर समय घर्किँदैछ। यदि ट्रम्प र उनका मान्छेहरूले चुनावको नतिजालाई खारेज गर्न सफल भए भने, ट्रम्पको यो ‘कल्ट’ अजेय बन्नेछ।
(पुलित्जर पुरस्कार विजेता पत्रकार र थुप्रै पुस्तकका लेखक क्रिस हेजेजको काउण्टरकरेन्टमा प्रकाशित लेखको अनुवाद)





प्रतिक्रिया राख्नुहोस्