कर्पोरेट/पर्यटन

पर्यटन प्रवर्द्धनका लागि लाङ्टाङमा ‘ट्रेल रन’ सञ्चालन हुने

रसुवा-नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङ्टाङ ट्रेल रन आयोजना हुने भएको छ । रसुवा-नुवाकोट पर्यटन समाजद्वारा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता आगामी जेठ २३ गते हुने जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा आयोजक समाजका अध्यक्ष बलराम न्यौपानेले लामो समयदेखि लाङ्टाङ क्षेत्रको पर्यटन विकास, अध्ययन, प्रचारप्रसार तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको समाजले यसपटक साहसिक खेल पर्यटनलाई केन्द्रमा राख्दै ट्रेल रन आयोजना गर्न लागेको उल्लेख गर्नुभयो ।

विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने प्रयासस्वरूप विभिन्न कार्यक्रम गर्दै आएको समाजले अब लाङ्टाङलाई अन्तरराष्ट्रियस्तरको साहसिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्याञ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुने समाजका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

समुद्री सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याञ्जिन गुम्बाबाट सुरु हुने यो दौड लाङ्टाङ गाउँ, घोडातबेला हुँदै स्याफ्रुबेँसीसम्म आइपुग्नेछ । प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन र सांस्कृतिक विविधताले भरिपूर्ण यो मार्गले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय धावकहरूको सहभागिता रहनेछ । यस ट्रेल रनले लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान मजबुत बनाउने, स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउने तथा साहसिक खेलमार्फत नयाँ सम्भावना खोल्ने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.