संस्कृति

बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय

राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिनुभएको छ ।

उहाँले आज बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सो विश्वास लिनुभएको हो ।

उहाँले भन्नुभएको छ, “शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो, शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको छु ।”

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।

यस दिन गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजाअर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।

वैशाख शुक्ल पक्षको पूर्णिमा तिथिमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा लुम्बिनीमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकाले उक्त ज्ञानको संसारभर प्रचारप्रसार भइरहेको छ ।

सन्देशमा भनिएको छ, “२५७०औँ बुद्ध जयन्तीको यस शुभ अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.