काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतका खेलमा शुक्रबार नेपालले युएईमाथि सनसनीपूर्ण जित निकालेको छ । वर्षाले बाधक बनेको खेलमा नेपालले युएईबिरुद्ध ‘डिएसएल’ पद्धतिमा ६ रनले विजयी भएको हो ।
त्रिवि क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमाा ७ विकेट गुमाउँदै २८९ रनको लक्ष्य दिएको थियो । ठूलो स्कोर बनाउने क्रममा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रशार गर्दा चार वर्षपछि राष्ट्रिय टोलीमा पुनरागन गर्नुभएका विनोद भण्डारीले अद्र्धशतक प्र्रहार गर्नुभयो ।
नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले बाधा पारेपछि जितका लागि ३८ ओभरमा दुई सय ५५ रनको लक्ष्य निर्धारण गरिएको थियो । युएई निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४८ रन मात्र बनाउन सक्यो ।
युएईका लागि मोहम्मद शाहदादले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६५ रन बनाउनुभएको उहाँले ७२ बलमा चार चौक र दुई छक्का हान्नुभयो । यस्तै खुजैमा तनवीरले ४९, हरप्रीत सिंहले ४१, अक्षदीप नाथले अविजित ३६, ओपनर आर्यन शर्माले ३३, अदीब उस्मानीले १४ रन बनाउनुभयो ।
बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभएको छ । सन्दीप एक दिवसीयमा एक सय विकेट पूरा गर्ने खेलाडी समेत बन्नुभएको छ । यससँगै उहाँको एक दिवसीय विकेट एक सय दुई पुगेको छ । यस्तै सोमपाल कामी र नन्दन यादवले दुई दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको विकेटको क्षतिमा दुई सय ८९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेल्नुभयो । दीपेन्द्रले सर्वाधिक अविजित सय रन बनाउनुभएको हो । उहाँले ९४ बलमा १३ चौका र एक छक्का हान्नुभयो ।
दीपेन्द्रको यो खेल जीवनको दोस्रो सतक हो । यसअघि उहाँले सन् २०२२ त्रिवि मैदानमै पिएनजीविरुद्ध शतक हान्नुभएको थियो । फर्ममा रहनुभएका दीपेन्द्रले यसअघिका खेलमा पनि उत्कृष्ट रन बनाउनुभएको थियो । उहाँले युएई विरुद्धको पहिलो खेलमा ७५ र ओमान विरुद्ध ६० रन बनाउनुभएको थियो ।
यस्तै ओपनर विनोद भण्डारीले ५६ रन, गुलशन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमाल र आरिफ शेखले समान ११, ११ रन बनाउनुभयो । अर्जुनले नेपाली राष्ट्रिय सिनियर टोलीमा डेब्यु गर्नुभएको हो ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले दुई तथा हैदर अली र खुजैमा तनवीरले एक एक विकेट लिनुभयो ।
जितसँगै २३ खेलबाट १६ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । समान खेलबाट १२ अङ्क बनाएको युएई आठौँ एवं अन्तिममा छ । यससँगै यस सिरिजमा नेपाल युएईलाई दुवै खेलमा हराउन सफल भयो । यसअघि नेपालले युएईलाई ३७ रनले हराएको थियो ।





प्रतिक्रिया राख्नुहोस्