पुरातत्व विभागले शनिबार काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्वका नभएको स्पष्ट पारेको छ ।
बल्खु क्षेत्रस्थित सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा भत्काइएका मन्दिरका संरचना नयाँ तथा निजी स्वामित्वका भएकाले विभागले संरक्षण गर्न आवश्यक नदेखिएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग राससलाई बताउनुहुन्छ ।
विभागले १०० वर्षभन्दा पुराना ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका संरचनामात्र संरक्षणमा गर्दै आएको जानकारी दिँदै उहाँले भन्नुभयो, “दशदेखि १५ वर्षअघि निर्माण भएका नयाँ वा निजी संरचनालाई विभागले संरक्षण गर्दैन । त्यो हाम्रो दायित्वभित्र पर्दैन ।”
महानिर्देशक प्रधानाङ्गले बल्खु क्षेत्रमा गरिएको स्थलगत अवलोकनका क्रममा भत्काइएका संरचनामा प्राचीनताको कुनै आधार नभेटिएको बताउनुभयो । त्यहाँ दुईवटा मूर्ति र एउटा आकारविहीन शिला भेटिएको थियो ।
“सिमेन्टले ढलान गरिएको नयाँ संरचना थियो, पुरानो कुनै संरचनात्मक विशेषता देखिएन,” उहाँले भन्नुभयो, “ती मूर्ति करिब १०–१५ वर्ष पुराना हुनुपर्छ, पुरातात्त्विक महत्वका वस्तु भेटिएनन् । स्थानीय व्यक्तिले नै ती मूर्तिको स्वामित्व दाबी गरेपछि विभागले त्यसलाई आफ्नो संरक्षणमा लिएन ।”
केही समय यता बस्ती विस्तारसँगै सामाजिक एकता वा पहिचानका लागि नयाँ मन्दिर तथा धार्मिक संरचना निर्माण गर्ने चलन बढेको बताउनुभयो । “विशेषगरी सुकुमवासी बस्तीमा बनेका यस्ता संरचना धेरैजसो नयाँ छन्,” उहाँले भन्नुभयो, “कहिलेकाहीँ जमिनमा स्वामित्व दाबी मजबुत बनाउन पनि यस्ता संरचना बनाउने प्रवृत्ति देखिन्छ ।”
बागमती किनारका प्राचीन मन्दिरहरूको उदाहरण दिँदै उहाँले ती संरचना व्यवस्थित रूपमा निर्माण गरिएका, गुठी राखिएका र ऐतिहासिक अभिलेखसहित समाजसँग जोडिएका बताउनुभयो ।
“हामीले अनधिकृत बस्ती हटाउने क्रममा पनि प्राचीन महत्वका संरचना छन् वा छैनन् भनेर ध्यान दिँदै आएका छौँ,” उहाँले भन्नुभयो, “बल्खुको उक्त संरचना भने विभागले संरक्षण गर्नुपर्ने श्रेणीमा पर्दैन ।”
विभागका अनुसार प्राचीन स्मारकका लागि संरचनामा ऐतिहासिकता, अभिलेख, निरन्तरता र निर्माण सामग्रीसमेत महत्वपूर्ण हुन्छ । “पुराना इट्टा, माटो, काठ वा ढुङ्गाका, गुठी व्यवस्था भएका, दाताको नाम र अभिलेख रहेका संरचनालाई मात्रै प्राचीन स्मारक मानिन्छ ।





प्रतिक्रिया राख्नुहोस्