बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ्ग भाषालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको छ ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले बिहीबार भक्तपुरमा आयोजना गरेको प्रदेश भाषा दिवस–२०८३ को उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले पालिका तथा सार्वजनिकस्थलमा सबैले देख्नेगरी नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ्ग भाषामा सूचना वा बोर्ड राख्न निर्देशन दिनुभयो ।
भाषा, कला, संस्कृतिको संरक्षणका लागि आवश्यक परे प्रदेश सरकारले बजेट थप गर्ने बताउँदै मुख्यमन्त्री बानियाँले मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुने बताउनुभयो ।
काठमाडौँ उपत्यकामा भाषा सङ्ग्रहालय स्थापना गर्नुपर्ने उल्लेख गर्दै उहाँले इतिहास र सम्पदाको सहरको रूपमा रहेको काठमाडौँ उपत्यकामा नेवारी, तामाङ्गलगायत सबै जातजातिको भाषा, कला, संस्कृति, परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्न एउटा सङ्ग्रहालय निर्माण गर्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका नेवारी भाषाका साहित्यकार डा पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यमा योगदान पुर्याएका राजेन्द्र थोकरलाई सम्मान गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, शिक्षा सामाजिक विकासमन्त्री कञ्चन वादे श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका महासचिव जगत डोङ, नेवा दे दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दिपेन्द्र सुवेदीलगायतले सबै भाषा, कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको सम्झनामा विगत तीन वर्षदेखि प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरेकाले आजको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्