जन सरोकार

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको एक साता पुग्न लागेको छ । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुमवासी बस्ती हटाइएपछि यहाँ आश्रय लिइरहेका ८९ परिवारका १९२ जनाको दैनिकी विस्तारै नयाँ लयमा अभ्यस्त बन्दै गएको छ ।

विसं २०४४ देखि बल्खुको सुकुमवासी बस्तीमा छिमेकी भएर बस्नुभएका ८४ वर्षीय मानबहादुर राई र ७२ वर्षीय गोपाल तामाङ अहिले आफूहरू एक परिवार भई बसेको अनुभूति भइरहेको बताउनुहुन्छ । राई श्रीमतीसहित सेन्टरमा बस्दै आउनुभएको छ भने तामाङ एक्लै हुनुहुन्छ ।

होल्डिङ सेन्टरमा बिहानको चिया नास्तापछि सेन्टरको परिसरको चौरमा हिँडडुल, क्यान्टिनमा नास्ता र दिनभरका गफले उहाँहरूको दैनिकी जोडिएको छ । सेन्टरमा अस्थायी बासका लागि राम्रो व्यवस्था भए पनि आफूहरू सुरक्षित र सम्मानजनक पुनस्र्थापनाको पर्खाइमा भएको बताउनुहुन्छ ।

“बिहान ५ः०० बजे उठ्छौँ, यसो हिँड्छौँ, चिया खान्छौँ । धन्यावाद छ सरकारलाई, अहिलेको अस्थायी व्यवस्था ठिक छ”, राई भन्नुहुन्छ, “तर सरकारले स्थायी व्यवस्थातर्फ पनि चाँडै काम गरिदिए राम्रो हुन्थ्यो ।”

तामाङको अपेक्षा पनि उस्तै छ, “खाना र बस्न अहिले सुविधा छ । अब स्थायी बासस्थानको व्यवस्था छिटो भए हुन्छ भन्ने आशामा छौँ ।”

यता, सेन्टरको खुला प्राङ्गणमा खेलिरहेका छन् २८ वर्षीया खुस्बु खातुनका चार सन्तान । आफ्ना चार बालबच्चाजस्तै खातुन पनि सामूहिक बसाइले अपरिचितहरूबीच पनि आत्मीयता बढाएको बताउनुहुन्छ । “धेरै जना भएर रमाइलो लाग्छ । खानपान र बसोबास ठिक छ । साथीहरूसँग गफ गरेर दिन बित्छ”, खातुनले भन्नुभयो ।

तर उहाँको चिन्ता बालबालिकाको भविष्य र पुनस्र्थापना छ । “बच्चाको पढाइ नरोकिने व्यवस्था सरकारले मिलाइदियो भने राम्रो हुन्छ”, उहाँले भन्नुभयो । सोही सेन्टरमा बस्दै आउनुभएका ५६ वर्षीय प्रेमबहादुर हुमागाईँ पेसाले सवारी चालक हुनुहुन्छ । दुर्घटनापछि काम गर्न नसकिरहेको अवस्थामा उहाँ यहाँ आउनुभएको हो ।

उहाँले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको वास्तविक विवरण सङ्कलनलगत्तै व्यवस्थापन गर्न माग गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “बस्ती हटाएपछि सरकारले खाना र बस्ने व्यवस्था गरेकामा धन्यवाद”, उहाँ भन्नुहुन्छ, “तर वास्तविक सुकुमवासीको पहिचान गरेर उनीहरूलाई रोजगारी र स्थायी व्यवस्थातर्फ लैजानुपर्छ । यहाँ बस्दा आफ्नै काम छोड्नुपरेको छ ।”

होल्डिङ सेन्टरमा बसोबासको व्यवस्थापनलाई लिएर सांसदहरूले पनि स्थलगत अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सहजीकरणमा पुगेका सांसदहरूले आश्रय लिइरहेकासँग कुराकानी गर्दै उहाँहरूको आवश्यकता र अवस्थाबारे जानकारी लिनुभएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले खरिपाटीको व्यवस्थापन अपेक्षाभन्दा राम्रो पाएको प्रतिक्रिया दिनुभयो । “ट्वाइलेट, खुला ठाउँ, सरसफाइ, स्वास्थ्य सेवा, एम्बुलेन्स सबै व्यवस्थित देखियो”, उहाँले भन्नुभयो, “बालबालिकाको शिक्षामा थप समन्वय आवश्यकता रहेछ ।”

सांसद यज्ञमणि न्यौपानेले भक्तपुरको व्यवस्थापन तुलनात्मक रूपमा व्यवस्थित देखिएको बताउनुभयो । “बसोबास सहज देखिन्छ । अब राज्यले पुनर्बास, शिक्षा, स्वास्थ्य र रोजगारीतर्फ ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद मनमाया विश्वकर्माले पनि खानेबस्ने व्यवस्थामा गुनासो नदेखिएको उल्लेख गर्दै विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकाको आवश्यकतामा थप ध्यान दिनुपर्ने बताउनुभयो ।

होल्डिङ सेन्टर व्यवस्थापनमा सहरी विकास मन्त्रालयले मुख्य व्यवस्थापनको काम गरिरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयले आवश्यक सामग्री उपलब्ध गराइरहेको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समन्वय गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालकाअनुसार सेन्टरमा मानसिक स्वास्थ्य परामर्शसँगै स्वास्थ्योपचार र औषधि उपलब्ध गराइएको जानकारी दिनुभयो । सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको वास्तविक समस्याको पहिचान र न्यायोचित व्यवस्थापनका लागि जनप्रतिनिधिहरूलाई पनि अवलोकनका लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।

“यस संवेदनशील विषयमा वस्तुस्थिति बुझ्न र जनप्रतिनिधिको अनुभव समेट्न सांसदहरूको सहभागिता गराइएको हो”, उहाँले भन्नुभयो ।

सेन्टरका प्रशासन प्रमुख भरत केसीका अनुसार अहिले ३० जना बालबालिकाका लागि ‘मल्टिग्रेड टिचिङ’ सुरु गरिएको छ । “आइतबारदेखि नजिकैका विद्यालयमा भर्ना गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

जागृति माविका शिक्षक रमेश मैनालीका अनुसार सामाजिक सञ्जालमा बालबालिकाको अवस्था देखेपछि शिक्षकहरू स्वयं सहकार्यका लागि विद्यालय तयार रहेको बताउनुभयो ।

“हाम्रो विद्यालयमा थप ४० जना विद्यार्थी पढाउने क्षमता छ । स्कुल बसको व्यवस्थासहित यहाँका बालबालिकालाई पढाउन तयार छौँ”, उहाँले भन्नुभयो ।

अस्थायी होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारका बालबालिकाको शिक्षा प्रभावित हुन नदिनका लागि पायक पर्ने विद्यालयमा पढाउने व्यवस्था मिलाउने तयारी तत्कालै थाल्ने सेन्टरका प्रशासन प्रमुख केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.