भारतमा जारी १९औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा गुजरातले राजस्थानलाई ७७ रनले परजित गरेको हो ।
राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८४ रनको अर्धशतकीय पारी खेले भने साई सुदर्सनले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै वासिङ्टन सुन्दर ३७ तथा राहुल तिवातिया १४ रनमा अविजित रहँदा जोस बटलरले १३ रन बनाए । राजस्थानका लागि ब्रिजेश शर्माले दुई विकेट लिए भने यश राज पुञ्जा र रविन्द्र जडेजाको भागमा समान एक-एक विकेट रह्यो । गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको राजस्थान १६.३ ओभरमा १ सय ५२ रनमा समेटियो ।
राजस्थानका लागि रविन्द्र जडेजाले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३८ रन बनाए भने बैभव सुर्यवंशीले ३६ रन जोडे । यस्तै धुव्र जुरेलले २४ रन जोड्दा शुभम दुवेले १५ र दासुन शनकाले १६ रन बनाए । राजस्थानका लागि रशिद खानले चार विकेट लिए भने जेसन होल्डरले तीन विकेट लिंदा कागिसो रबडाको भागमा दुई विकेट रह्यो ।
जितसँगै गुजरात ११ खेलमा १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा १२ अंक जोडेको राजस्थान पाँचौ स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्