मध्यपूर्व कायम रहेको युद्धविराम “भेन्टिलेटरको भरमा बाँचिरहेको छ” : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धमा कायम रहेको युद्धविराम “भेन्टिलेटरको भरमा बाँचिरहेको” अवस्थामा पुगेको चेतावनी दिएका छन्। इरानले अमेरिकी प्रस्तावको पछिल्लो जवाफमा आफ्नो अडान कायम राखेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।
उता इरानले भने कुनै पनि आक्रमणको जवाफ दिन आफ्नो सेना पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ। अमेरिकी प्रस्तावको जवाफस्वरूप इरानले पठाएको प्रतिप्रस्तावलाई ट्रम्पले “पूर्ण रूपमा अस्वीकार्य” भन्दै आक्रोश व्यक्त गरेका थिए।
त्यसपछि तेलको मूल्य आकस्मिक रूपमा बढेको छ भने हर्मुज जलसन्धि पुनः व्यावसायिक जहाज आवतजावतका लागि खुल्ने आशा कमजोर बनेको छ।
ट्रम्पले अमेरिका अन्ततः इरानमाथि “पूर्ण विजय” हासिल गर्ने दाबी गर्दै खाडी क्षेत्रमा एक महिनाभन्दा बढी समयदेखि जारी युद्धविराम अन्तिम अवस्थामा पुगेको बताए।
“यो युद्धविराम अहिले जीवनरक्षक उपकरणको सहारामा छ। जस्तो डाक्टरले बिरामीका आफन्तलाई ‘अब बाँच्ने सम्भावना केवल एक प्रतिशत छ’ भनेर सुनाउँछ,” ट्रम्पले सोमबार पत्रकारहरूसँग भने।
इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले त्यसको केही समयपछि नै इरानी सेना “कुनै पनि आक्रमणलाई पाठ सिकाउन तयार रहेको” बताएका थिए।
वासिङ्टनसँग भएका अघिल्ला वार्तामा मुख्य वार्ताकारसमेत रहेका उनले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पले अस्वीकार गरेको इरानको १४ बुँदे प्रस्ताव स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन्।
“अरू कुनै पनि उपाय निष्कर्षविहीन हुनेछ, असफलतामाथि असफलता मात्रै हुनेछ। उनीहरूले जति ढिलाइ गर्छन्, अमेरिकी करदाताले त्यति नै ठूलो मूल्य चुकाउनुपर्नेछ,” उनले भने।
युद्ध र हर्मुज जलसन्धि वरपर इरान तथा अमेरिकाले लगाएका नाकाबन्दीका कारण विश्व ऊर्जा बजार पहिले नै अस्थिर बनेको छ। यस्तो अवस्थामा पछिल्ला घटनाक्रमले ऊर्जा बजारमा थप चिन्ता बढाएको छ।
साउदी अरेबियाको तेल कम्पनी आरामकोका प्रमुख कार्यकारी अधिकृत अमिन नासेरले लगानीकर्तासँग कुरा गर्दै “यस वर्षको पहिलो त्रैमासिकदेखि सुरु भएको ऊर्जा आपूर्ति संकट विश्वकै सबैभन्दा ठूलो संकट” भएको बताएका छन्।
उनले हर्मुज जलसन्धि तुरुन्तै खुले पनि बजार सामान्य अवस्थामा फर्किन महिनौँ लाग्ने चेतावनी दिएका छन्। “यदि जलसन्धि अझ केही सातासम्म बन्द रह्यो भने अवस्था सामान्य हुन सन् २०२७ सम्म लाग्न सक्छ,” उनले भने।
खाद्य र मानवीय संकटको जोखिम
खाडी क्षेत्रका बन्दरगाहबाट ठूलो मात्रामा मल निर्यात हुने भएकाले अहिले विश्वले मल अभावको जोखिम पनि सामना गरिरहेको छ। यसले करोडौँ मानिसको खाद्य सुरक्षामा असर पार्न सक्ने चेतावनी दिइएको छ।
संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक होर्खे मोरेइरा दा सिल्भाले एएफपीसँग कुरा गर्दै “ठूलो मानवीय संकट” रोक्न अब केही सातामात्र बाँकी रहेको बताए। “हामीले थप ४ करोड ५० लाख मानिस भोकमरी र कुपोषणतर्फ धकेलिने अवस्था देख्न सक्छौँ,” उनले भने।
ट्रम्पले इरानको प्रतिप्रस्तावका सबै विवरण सार्वजनिक नगरे पनि इरानी विदेश मन्त्रालयले आफ्नो मागमा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने र “सम्पूर्ण क्षेत्रमा युद्ध अन्त्य हुनुपर्ने” उल्लेख गरेको जनाएको छ। यसको अर्थ लेबनानमा हिजबुल्लाहमाथि इजरायलले गरिरहेका आक्रमण रोक्नुपर्ने माग पनि रहेको संकेत गरिएको छ।
इरानले विदेशस्थित बैंकहरूमा वर्षौंदेखि रोक्का गरिएका आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने मागसमेत राखेको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानी जनताको सम्पत्ति “अन्यायपूर्वक थुनिएको” भन्दै फिर्ता हुनुपर्ने बताएका छन्।
यदि यस्तो माग स्वीकार गरियो भने इरानले लामो समयदेखि भोग्दै आएको आर्थिक अलगाव अन्त्यतर्फ ठूलो उपलब्धि हासिल गर्ने विश्लेषण गरिएको छ।
अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी राष्ट्रहरूले इरानले परमाणु हतियार निर्माण गर्न खोजिरहेको आरोप लगाउँदै आएका छन्। तर तेहरानले भने यस्तो आरोप निरन्तर अस्वीकार गर्दै आएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका आणविक संरचना नष्ट नभएसम्म युद्ध अन्त्य नहुने अडान दोहोर्याएका छन्।
वाल स्ट्रिट जर्नलका अनुसार इरानको प्रतिप्रस्तावमा केही उच्चस्तरीय संवर्धित युरेनियमलाई कमजोर पार्ने र बाँकी तेस्रो देशमा पठाउने सम्भावना पनि उल्लेख गरिएको छ।
उक्त पत्रिकाले संयुक्त अरब इमिरेट्सले अप्रिलको सुरुमा इरानको लावान टापुस्थित तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबीसमेत गरेको छ। यो घटनाले युद्धमा यूएईको संलग्नता रहेको नयाँ तथ्य सार्वजनिक गरेको बताइएको छ।
यद्यपि एएफपीले यूएईको उक्त आक्रमण स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले अप्रिल ७ मा युद्धविराम घोषणा गरेको समयतिर ती आक्रमण भएका थिए।
हर्मुज जलसन्धिमा तनाव
संकट समाधानको स्पष्ट मार्ग नदेखिएपछि अहिले सबैको ध्यान हर्मुज जलसन्धितर्फ केन्द्रित भएको छ। इरानले त्यहाँ जहाज आवतजावतमा कडाइ गर्दै जलसन्धि पार गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र बनाइरहेको बताइएको छ। अमेरिकी अधिकारीहरूले अन्तर्राष्ट्रिय जलमार्गमाथि इरानको नियन्त्रण “अस्वीकार्य” हुने बताएका छन्।
ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै तेल ट्यांकर र व्यावसायिक जहाजलाई हर्मुज पार गराउन अमेरिकी सुरक्षा अभियान पुनः सञ्चालन गर्नेबारे विचार भइरहेको बताए। तर उनले अन्तिम निर्णय भने भइनसकेको स्पष्ट पारे।
यसअघि साउदी अरेबियाले यस्तो अभियानका लागि आफ्नो हवाई क्षेत्र र सैनिक आधार प्रयोग गर्न अमेरिकालाई अनुमति नदिएको स्रोतहरूले बताएका थिए। साउदी पक्षले यसले “स्थिति झन् बिगार्ने र सफल नहुने” चिन्ता व्यक्त गरेको थियो।
इरानमाथि आर्थिक दबाब बढाउने प्रयासस्वरूप अमेरिकाले इरान, हङकङ र यूएईका १२ व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ। उनीहरूले इरानी तेल चीन पठाउन सहयोग गरेको अमेरिकी आरोप छ।





प्रतिक्रिया राख्नुहोस्