विश्व समाचार

हर्मुज जलसन्धिमा नागरिक जहाजमाथिको आक्रमण अस्वीकार्य : दक्षिण कोरिया

अमेरिका-इरान-इजरायलबीचको द्वन्द्वका कारण अस्तव्यस्त रहेको इन्धन आपूर्तिको सबैभन्दा सहज र छोटो मार्ग हर्मुज जलसन्धिमा नागरिक जहाजमाथि हुने कुनै पनि आक्रमण सह्य नहुने दक्षिण कोरियाले जनाएको छ।

सोमबार दक्षिण कोरियाली कम्पनीको स्वामित्वमा रहेको मालवाहक जहाज ‘एचएमएम नामु’माथि हर्मुज जलसन्धिमा भएको आक्रमण “कुनै पनि हालतमा उचित ठहर गर्न नसकिने र अस्वीकार्य” रहेको भन्दै राष्ट्रिय सुरक्षा सल्लाहकार वी सुङ–लाकले कडा निन्दा गरेका छन्।

उनले सियोल सरकारले आक्रमणको पछाडि को रहेको र प्रयोग गरिएका वस्तुहरूको प्रकृति के थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको तथा प्राप्त निष्कर्षका आधारमा आवश्यक कदम चालिने बताएका छन्।

दक्षिण कोरियाली सरकारले हालसम्म आक्रमण कसले गर्‍यो भन्ने यकिन गर्न नसकेको सुरक्षा सल्लाहकारले बताए। विषय स्पष्ट भएपछि “उचित स्तरको प्रतिक्रिया” दिइने उनले (योनहाप) समाचार एजेन्सीलाई बताएका छन्।

“यस्तो घटना पुनः नदोहोरियोस् भनेर सरकारले सम्बन्धित देशहरूसँग समन्वय गर्नेछ र उक्त जलसन्धि क्षेत्रमा रहेका आफ्ना जहाज तथा चालक दलको सुरक्षालाई अझ सुदृढ बनाउन प्रयास दोब्बर गर्नेछ,” वीले भने।

“यसका साथै दक्षिण कोरियाली जहाजसहित सबै जहाजहरूको सुरक्षा तथा सुरक्षित आवागमन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रयासमा निरन्तर सहभागी रहनेछ,” उनले थपे।

यसअघि दक्षिण कोरियाको विदेश मन्त्रालयले आधिकारिक अनुसन्धान टोलीले गत साता हर्मुज जलसन्धिमा दक्षिण कोरियाली कम्पनीद्वारा सञ्चालित जहाजमा भएको विस्फोट र आगलागी बाह्य आक्रमणका कारण भएको निष्कर्ष निकालेको जनाएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.