संयुक्त परिवारको शक्ति : मानसिक शान्ति र दिगो विकासको आधार
आज मे १५ तारिख विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । परिवार विखण्डत हुँदै गएको, मानवता, भाइचारा, सहिष्णुता हराउँदै गएको अहिलेको समयमा परिवार दिवस मनाउनुको विशेष महत्व रहेको छ ।
परिवार भनेको एक सामाजिक संस्था हो जहाँ एउटै घरमा बुबा, आमा, दाजुभाइ, दिदीबहिनी, हजुरबुबा-हजुरआमा सँगै बस्छन् । उनीहरुबीच आपसी सल्लाह, साथ, सहयोग आदानप्रदान हुन्छ । जसले परिवारका सदस्यको उन्नतिमा ठूलो मद्दत गर्र्दछ ।
सरल भाषामा भन्नुपर्दा परिवार भनेको रगत, विवाह वा अपनत्वद्वारा जोडिएको मानिसहरूको समूह हो, जहाँ आपसी माया, स्नेह र सहयोगका साथ एकअर्काको जिम्मेवारी लिंदै पुरानो पुस्ताले नयाँ पुस्तालाई संस्कार, मूल्य र परम्परा सिकाउने स्थान पनि हो ।
यस्तै परिवारको अभ्यास नेपाली समाजमा छ । संयुक्त परिवारको अभ्यासमा रहेको नेपालमा आजभोलि एकल जीवनलाई आधुनिकता ठान्दै बुढा बाबुआमालाई वृद्धाश्रममा राखेर अलग्गिने परिपाटी बढ्दो छ ।
तीव्र आधुनिकीकरण, बढ्दो व्यक्तिवाद र पश्चिमी समाजमा विस्तार हुँदै गएको एक्लाएक्लै बस्ने संस्कृतिका बीच यो दिवसले परिवारको महत्वलाई पुनः स्मरण गराएको छ ।
यस्तो अवस्थामा दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विश्वभर मनाइने अन्तरराष्ट्रिय परिवार दिवसको आफ्नै महत्व छ ।
यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल भइरहेको छ ।
परिवार केवल रगतको सम्बन्धमा सीमित संस्था नभई मानवता, भाइचारा, सहकार्य, सहिष्णुता, मेलमिलाप र सामाजिक सुरक्षाको पहिलो विद्यालय भएको सन्देश यस दिवसले विश्व समुदायलाई दिएको छ ।
सन् १९८० को दशकदेखि नै परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसङ्घले विशेष ध्यान दिन थालेको थियो । आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता र समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न आग्रह गरेको थियो ।
त्यसपछि परिवारको अवस्था र कल्याण सुधार गर्ने तथा सामाजिक विकासका लागि अन्तरराष्ट्रिय सहकार्य बढाउने पहल निरन्तर अघि बढ्दै आएको छ ।
महासभाले सन् १९८९ लाई ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेपछि सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय गरिएको हो । यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो ।
आज विश्वका विकसित मुलुकमा बढ्दो एकल जीवनशैली, वृद्धवृद्धाको एक्लोपन, सम्बन्ध विच्छेद, मानसिक तनाव र सामाजिक दूरी गम्भीर चुनौतीका रूपमा देखा परिरहेका छन् ।
आर्थिक रूपमा सम्पन्न भए पनि धेरै पश्चिमी समाजमा मानिसहरू भावनात्मक रूपमा असुरक्षित र एक्लोपनको समस्याबाट ग्रसित छन् । प्रविधिको अत्यधिक प्रयोग र व्यस्त जीवनशैलीले पारिवारिक संवादलाई कमजोर बनाइरहेको छ ।
यसको विपरीत नेपाली समाजमा परम्परागत रूपमा स्थापित संयुक्त परिवार प्रणालीले आपसी सहयोग, सम्मान, सहअस्तित्व र सामूहिक उत्तरदायित्वको संस्कार विकास गरेको छ ।
एउटै छानामुनि धेरै पुस्ता सँगै बस्ने परम्पराले बालबालिकालाई संस्कार, ज्येष्ठ नागरिकलाई सुरक्षा र युवापुस्तालाई जिम्मेवारीबोध गराउने काम गरेको छ ।
दुःख–सुख साटासाट गर्ने, आपतविपतमा एकअर्काको साथ दिने तथा सामाजिक सद्भाव कायम गर्ने आधारका रूपमा संयुक्त परिवार नेपाली समाजको महत्वपूर्ण विशेषता बनेको छ ।
यद्यपि संयुक्त परिवारभित्र व्यक्तिगत स्वतन्त्रता सीमित हुने, निर्णय प्रक्रियामा विवाद देखिने वा आर्थिक भार असन्तुलित हुने जस्ता चुनौती पनि छन् । अर्कोतर्फ, एकल परिवारले व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र आत्मनिर्णयको अवसर दिन्छ ।
तर अत्यधिक व्यक्तिवादले सम्बन्धमा दूरी, मानसिक तनाव र सामाजिक एक्लोपन बढाउने जोखिम पनि बोकेको हुन्छ । विशेषज्ञहरूका अनुसार बढ्दो मानसिक तनाव, डिप्रेसन र आत्महत्याका घटनालाई न्यून गर्न परिवारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
परिवारभित्रको प्रेम, संवाद, विश्वास र भावनात्मक सहाराले मानिसलाई मानसिक रूपमा बलियो बनाउँछ । परिवारमा हुने आत्मीयता र सामूहिक भावना नै वास्तविक खुसी र सन्तुष्टिको आधार हो ।
दिगो अर्थतन्त्र निर्माणमा पनि परिवारको भूमिका महत्वपूर्ण मानिन्छ । संयुक्त परिवारमा स्रोतसाधनको साझा उपयोग हुने भएकाले खर्च नियन्त्रण, बचत वृद्धि र आर्थिक सुरक्षा बलियो हुने देखिन्छ ।
बालबालिका हेरचाहदेखि ज्येष्ठ नागरिकको संरक्षणसम्मका कार्य परिवारभित्रै व्यवस्थापन हुँदा सामाजिक लागत कम हुन्छ । यद्यपि आधुनिक सहरी जीवन, वैदेशिक रोजगारी र बदलिँदो सामाजिक संरचनाका कारण संयुक्त परिवार क्रमशः खुम्चिँदै गएको अवस्था छ ।
राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिका लागि परिवारमैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।
गरिबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा, लैङ्गिक समानता र समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारलाई समाजको पहिलो र सबैभन्दा बलियो इकाइ मानिएको छ ।
अन्तरराष्ट्रिय परिवार दिवसले आर्थिक प्रगति मात्र होइन, मानवीय सम्बन्धको संरक्षण पनि सभ्य समाजको आधार हो भन्ने सन्देश दिएको छ ।
बदलिँदो विश्व परिवेशमा आधुनिकता र पारिवारिक मूल्यबीच सन्तुलन कायम गर्दै मानवता, भाइचारा, शान्ति र सहकार्यको संस्कृतिलाई जोगाउनु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।





प्रतिक्रिया राख्नुहोस्