विश्व समाचार

तेहरानको १४ बुँदे शान्ति प्रस्ताव वासिङ्टनद्वारा अस्वीकार, वार्ता थप तनावपूर्ण

मध्यपूर्वमा जारी तनाव अन्त्य गर्न इरानले अघि सारेको १४ बुँदे शान्ति प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ । वासिङ्टनले विशेष गरी आणविक कार्यक्रमसम्बन्धी मुद्दामा आफ्नो “दबाबमूलक नीति” पुनः दोहोर्‍याएको जनाएको छ ।

इरानी सञ्चारमाध्यम तेहरान टाइम्सका अनुसार इरानले प्रस्ताव गरेको योजना दुई चरणमा आधारित रहेको छ । पहिलो चरणमा सबै मोर्चामा जारी युद्ध पूर्ण रूपमा अन्त्य गर्ने र त्यसपछि मात्रै आणविक कार्यक्रमसम्बन्धी वार्ता अघि बढाउने प्रस्ताव गरिएको थियो ।

तेहरानले यस महिनाको सुरुआतमै अमेरिकी प्रस्तावको जवाफस्वरूप १४ बुँदे प्रतिप्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा क्षेत्रबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता गर्नुपर्ने, युद्ध स्थायी रूपमा अन्त्य हुनुपर्ने तथा प्रतिबन्ध हटाइनुपर्ने माग समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो प्रस्ताव पाकिस्तानी मध्यस्थकर्तामार्फत अमेरिकासम्म पुर्‍याइएको थियो । अमेरिकी योजनामा दुई महिनाको युद्धविरामको प्रस्ताव गरिएको भए पनि इरानले ३० दिनभित्र मूल विवाद समाधान गर्नुपर्ने अडान राख्दै “अस्थायी युद्धविराम होइन, युद्धको स्थायी अन्त्य” वार्ताको मुख्य एजेन्डा हुनुपर्ने बताएको छ ।

यसबीच इरानी विदेशमन्त्री अब्बास अरगचले अमेरिकाप्रति “विश्वास नरहेको” प्रतिक्रिया दिएका छन् । उनले अमेरिकाबाट वार्ता जारी राख्न चाहेको संकेत आए पनि व्यवहारमा गम्भीरता नदेखिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको प्रस्तावलाई “पूर्ण रूपमा अस्वीकार्य” बताएका छन् । तर पछिल्लो अभिव्यक्तिमा उनले इरानको आणविक कार्यक्रम २० वर्षसम्म निलम्बन गर्ने सहमति भए स्वीकार गर्न सकिने संकेत दिएका छन्, जसलाई सम्भावित कूटनीतिक लचकताको रूपमा हेरिएको छ ।

लगातार प्रस्ताव–प्रतिप्रस्ताव आदानप्रदान भइरहे पनि दुवै पक्ष आफ्नो मूल अडानबाट पछि नहटेकाले वार्ता अझै निष्कर्षविहीन बनेको विश्लेषण गरिएको छ ।

विशेष गरी होर्मुज जलडमरूमध्य, अमेरिकी सैन्य उपस्थिती र इरानको आणविक कार्यक्रम अहिले पनि विवादका मुख्य विषय बनेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.