जन सरोकार

चार वर्षमा पनि सम्पन्न भएन ५५ मिटर सडक

कैलालीको भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन ।

नगरपालिका–३ पडरीया चोक हुँदै ठेकीपुर हुलाकी राजमार्गसँग जोडिएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानबाट निर्माण गर्ने भनिएको थियो । जसअनुसार २०८० असारभित्रै सडक निर्माण हुनुपर्ने थियो ।

चार लेन सडकको हालसम्म चारपटक म्याद थप भएको छ । पछिल्लो म्याद चालु आवको असार १५ गतेसम्म छ । प्रदेश सरकारको रु ६६ लाख र स्थानीय तहको रु ६६ लाख गरी रु एक करोड ३२ लाखमा ठेक्का आह्वान गरिएको थियो । काम नभएपछि प्रदेश सरकारको अनुदान फिर्ता भयो ।

नगरपालिकाका इन्जिनियर अजय डगौराले भन्नुभयो, “निर्माण कम्पनीलाई जति ताकेता गर्दा पनि काम भएको छैन, कार्यपालिकाले म्याद थप गरेपछि कारबाहीको प्रक्रियामा जान पनि सकिएको छैन । यसपटकको कार्यपालिका बैठकले अन्तिम पटक भनेको छ ।”

उक्त सडक निर्माणको जिम्मा काफली कन्स्ट्रक्सनले पाएको थियो । नगरपालिकाले चालु आवमा आफ्नो स्रोतबाट रु १७ लाख बजेट विनियोजन गरेको छ । निर्माण कम्पनी नगरपालिकाको सम्पर्कमा पनि नआएको इन्जिनियर डगौराको भनाइ छ ।

काफली कन्स्ट्रक्सनका सञ्चालक शङ्कर शर्माले भन्नुभयो, “ठेक्का मेरो कम्पनीले पाए पनि काम गर्न भने तेस्रो व्यक्ति ज्ञानुलाभलाई जिम्मा दिएका थियौँ, तर उहाँले काम नै गर्नुभएन, अब आफैँले एक साताभित्र काम सुरु गर्छु ।”

साथै सङ्घीय सरकारको रु ५० लाख र स्थानीय सरकारको रु ५० लाख बजेटबाट हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिका–३ ठेकीपुर हुँदै भजनी बजार जोड्ने चार लेनको १३० मिटर सडक कालोपत्र अलपत्र परेको छ । विसं २०८१ जेठ २४ गते बिएण्डबी कन्स्ट्रक्सनले सडक कालोपत्रेको जिम्मा पाएको थियो ।

विसं २०८२ असार २० गते सम्झौताको म्याद सकिएपछि सङ्घीय सरकारबाट आएको अनुदान पूरै खर्च हुन सकेन । त्यसपछि नगरपालिकाले आफ्नो स्रोतबाट सडक निर्माण गर्ने भन्दै रु ११ लाख बजेट विनियोजन गरी सोही वर्षको मङ्सिरभित्र सम्पन्न गर्ने गरी म्याद थपिएको थियो । त्यसपछि पुनः पुसमा अर्को म्याद थपिएको थियो । तर हालसम्म पनि काम भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.