जन सरोकार

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको जनाइएको छ । तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकको तीन स्थानबाट पुनःनिर्माण भइरहेको छ ।

हाल दुई स्थान चारसयबेँसी र बोक्सेकुनामा अस्थायी रुपमा पुरानै सडकबाट गाडी सञ्चालन गर्न सकिने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार रोशी खोलामा बाढी आए पुरानै सडकबाट यातायात सञ्चालन गरिनेछ ।

सम्भावित जोखिम तथा निर्माणलाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको योगेशले बताउनुभयो । “सडक पूर्वाधार स्वरूप आरसीसी पर्खाल तथा प्लम पर्खाल निर्माण भइरहेको छ, वर्षा नहुँदा निर्माण कार्यमा निकै सहज भएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार राजमार्गको जोखिमयुक्त स्थानमा आगामी वर्षाअघि पूर्वाधार निर्माण सम्पन्न हुने र राजमार्गबाटै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माणको गति अघि बढाइएको छ । यसअघि रोशी खोलामा बाढी आउने वित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

सो पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कूल २५ प्रतिशत काम भएको छ ।

विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चारमध्ये बाँकी एक खण्ड वर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर सडक निर्माण जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माण गर्दैछ ।

क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको डिभिजनल प्रमुख योगशले जानकारी दिनुभयो ।

यस्तै, डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको छ । गतवर्ष र यसवर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।

यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका स्थानमा संरचना बनाइ कालोपत्र गरिने जनाइएको छ । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो ।

अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाईसमेत दुई लेनको निर्माण गरिनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।

डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का दिइएको छ ।

चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँ, नेपालथोकदेखि वर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनःनिर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

क्षतिग्रस्त कूल २९ दशमलव ५ किमी सडकमध्ये वर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो ।

क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.