सरकारको शीर्ष प्राथमिकता सुशासन : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको शीर्ष प्राथमिकता सुशासन भएको बताउनुभएको छ । “हामीलाई विश्वास छ सुशासन विना दिगो आर्थिक विकास सम्भव हुँदैन । भ्रष्टाचार, ढिलासुस्ती, विचौलियातन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्रै बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ । त्यसैले यो सरकार सिस्टम सुधारको बाटोमा अगाडि बढेका छौँ,” अर्थमन्त्रीले भन्नुभयो ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा उहाँले इगभर्नेन्स, डिजिटल डेलिभरी, डेटा सम्मिसन, परफमेन्स कन्ट्याक जस्ता प्रबन्ध केवल प्रविधिका विषय मात्रै नभई राज्य सञ्चालनको संस्कार परिवर्तन गर्ने आधार भएको बताउनुभयो ।
आसेपासेको मिलेमतोबाट राज्यलाई मुक्त गरी सुशासनको लामो यात्रामा जानु आफूहरूको मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै उहाँले विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता निर्धारण गरिएको उल्लेख गर्नुभयो ।
मध्यम वर्गको विस्तार भन्नाले केही सीमित वर्गलाई सुविधा दिनु नभएको नभई यसको मूल ध्येय गरिब, भूमिहीन सुकुमवासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउनु रहेको अर्थमन्त्रीको कथन छ ।
“हामी गरिबीको समान वितरणमा विश्वास गर्दैनौँ । हामी गरिबलाई माथि उठाएर मध्यम वर्गको फराकिलो आकार बनाउनुपर्छ भन्ने मान्यताबाट आएका छौँ,” अर्थमन्त्रीले भन्नुभयो ।
नागरिकको आय, सीप, उत्पादक र अवसरमा पहुँच बढाएर मात्रै वास्तविक सामाजिक गतिशीलता सम्भव हुने उहाँको कथन छ । सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्नु सरकारको खास प्राथमिकता रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले सोही प्रयोजनका लागि सरकारले नयाँ अवधारणा ल्याएको बताउनुभयो ।
राज्य एक अविच्छिन्न उत्तराधिकार प्राप्त संस्था भएकाले अघिल्ला सरकारले बोकेका दायित्व पनि जिम्मा लिनुपर्ने भएकाले केही दायित्वलाई आत्मसात् गर्नैपर्ने उहाँको भनाइ छ । उहाँले आगामी आर्थिक वर्षको बजेट स्पष्ट लेखिने कार्यान्वयमा जाने दृढता व्यक्त गर्दै उहाँले कामकाजी र कार्यान्वयमुखी दस्तावेज बनाउने विश्वास दिलाउनुभयो ।
नागरिकले परिणाम खोजेको भन्ने आफूहरूलाई राम्रोसँग थाहा भएको उल्लेख गर्दै अर्थमन्त्रीले कानुनी सुधार, संस्थागत उत्तरदायित्व, समय सीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखेको त्यसलाई हामीले मिसन मोडको नामकरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा खास गरेर पाँच मार्गदर्शक सिद्धान्त तय गरिएको र त्यसमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तराष्ट्रिय सम्बन्धलाई विशेष जोड दिइएका आधारमा प्राथमिकता निर्माण गरेका छौँ ।”
निजी क्षेत्रलाई आर्थिक विकासको अगुवाका रूपमा लिएको जानकारी दिँदै उहाँले भौतिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको साझेदारीमा जोड दिइएको बताउनुभयो । अर्थमन्त्री वाग्लेले भन्नुभयो, “पहिलो पटक यसपालिको बजेटमा हामीले गभर्मेन्टको ब्यालेन्ससिटभन्दा बाहिरबाट पनि निजी पँुजी आकर्षित गर्ने गरेर अगाडि बढेका छौँ ।”





प्रतिक्रिया राख्नुहोस्