आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले अमेरिकामाथि एक सय २२ रनको सानदार जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १७ रन बनाएको थियो । कीर्तिपुर मैदानमा यो नेपालको अहिलेसम्मकै उच्च योगफल बनेको हो । नेपालका लागि इशान पाण्डेले ८३ बलमा ८ चौका र एक छक्कासहित ८४ रनको अर्धष्टकीया पारी खेले भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै कप्तान रोहितले ५९ बलमा ४६ रन बनाए । रोहित र इशानले तेस्रो विकेटका लागि १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । यस्तै आसिफ शेखले ४३ रन जोड्दा कुशल भुर्तेलले २९ रन जोडे । यी दुईले पहिलो विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए । यसैगरी आरिफ शेख १७ रनमा अविजित रहँदा गुल्सन झाले १५, नन्दन यादवले १ र सोमपाल कामी ५ रनमा आउट भए ।
अमेरिकाका लागि शुभम रन्जानेले दुई विकेट लिए भने मिलिन्द कुमार र रुशिल उगारकरको भागमा समान एक–एक विकेट रह्यो । नेपालले प्रस्तुत गरेको ३ सय १८ रनको लक्ष्य लिएर मैदान उत्रेको अमेरिका ४१ दशमलव २ ओभरमा १ सय ९५ रनमा समेटियो । अमेरिकाको लागि संजय कृष्णमुर्तिले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय पारी खेले भने शायन जहाँगीरले २७ रन बनाए ।
यस्तै शेहान जयसूर्याले २६ रन जोड्दा, साइतेजा मुक्कामल्लाले २२, नोस्थुश केन्जिगेले २९ र मिलिन्द कुमारले १२ रन बनाए । नेपालको लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, गुलसन झा र ललित नारायण राजवंशीले समान दुई-दुई विकेट लिँदा सोमपाल कामीको भागमा एक विकेट रह्यो ।
जारी खेलमा नेपालले अमेरिकासामु ३ सय १८ रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा पहिलो इनिङमा बनाएको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपमा ओमानविरुद्ध ३१० रन बनाएको थियो ।
नेपालले बनाएको ३ सय १७ रनको विशाल योगफल केवल कीर्तिमानी स्कोर मात्र होइन, विश्वकप लिग–२ को प्रतिस्पर्धात्मक समीकरणमा पनि महत्वपूर्ण मानिएको छ ।
जितसंगै नेपाल नेपाल २८ खेलमा ११ मा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २४ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ भने अमेरिका २८ खेलमा १९ जित र ९ हार सहित ३८ अंक जोड्दै शीर्ष स्थान रहेको छ । जारी सिरिजमा नेपालले चार खेलमध्ये तीन खेल जित्दै महत्वपूर्ण छ अंक जोड्न सफल भएको छ ।
खेलको म्यान अफ दि म्याच इशान पाण्डे भए ।




प्रतिक्रिया राख्नुहोस्