नेपाल अपराजित रहँदै एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
सिंगापुरको सिंगा ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो । ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए भने जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिँदा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीको भागमा समान एक-एक विकेट रह्यो । यी दुवै टोलीले भने एसियाली खेलकुदमा भने स्थान बनाइसकेको छन् ।
ओमानले प्रस्तुत गरेको ९५ रन्को सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपालले ९ दश्ल्मल्व २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४४ रनमा अविजित रहे भने रोहित पौडेलले २० बलमा २ चौकामा मद्दतमा २१ रनमा नट आउट रहे ।
यस्तै ओपनर कुशल भुर्तेलले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोड्दा आसिफ शेख एक रनमा आउट भए । ओमानको लागि समीर ओथमानले दुई विकेट लिए ।
अब नेपालले आजै हुने दोस्रो सेमिफाइनल अन्तर्गत मलेसिया र हङकङबीचको विजेतासँग उपाधिको लागि भोलि सोमबार खेल्नेछ ।




प्रतिक्रिया राख्नुहोस्