राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन्। सार्वजनिक गरिएको प्रतिनिधिको नामावलीमाथि परेका उजुरीहरूको छानबिनपछि प्रतिनिधिको अन्तिम सङ्ख्या टुङ्गो लगाइएको हो।
प्रतिनिधिको टुङ्गो लागेसँगै महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि परिचयपत्र वितरणको काम सुरु गरिएको छ। परिचयपत्र वितरणलाई छिटो सम्पन्न गर्न नौ वटा केन्द्रबाट वितरण भइरहेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभएको छ ।
महाधिवेशन आयोजक जिल्ला चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार सातै प्रदेश, प्रवास तथा समायोजन समूहबाट प्रतिनिधि बनेकाहरूलाई छुट्टाछुट्टै स्थानबाट परिचयपत्र वितरण भइरहेको छ।
प्रतिनिधिको अन्तिम सूची तय भएपछि स्वचालित प्रणालीमार्फत परिचयपत्र छपाइ गर्नुपर्ने भएकाले वितरण कार्यमा केही ढिलाइ भएको उहाँले बताउनुभयो। परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र सुरु गरिने उहाँको भनाइ छ।
रास्वपाको बन्दसत्र आज भरतपुरस्थित उद्योग सङ्घ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुने तय भएको छ। बन्दसत्रपछि निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।
यसैबीच, महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारीसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ। आयोगले जारी गरेको सूचनाअनुसार कुनै पनि पदका उम्मेदवारका प्रस्तावकले अर्को उम्मेदवारको प्रस्तावक बन्न पाउने छैनन्।
त्यस्तै, कुनै उम्मेदवारका समर्थकले पनि एकभन्दा बढी उम्मेदवारको मनोनयन फारममा समर्थकका रूपमा हस्ताक्षर गर्न नपाउने व्यवस्था गरिएको छ।
आयोगका प्रमुख केसीका अनुसार सभापति पदका उम्मेदवारले मनोनयन फारम दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
त्यसै गरी, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षरसहित मनोनयन फारम दर्ता गर्नुपर्नेछ।
निर्वाचन आयोगले नियमविपरीत दर्ता गरिएका उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने स्पष्ट गरेको छ। साथै, कुनै पनि उम्मेदवारका प्रस्तावक वा समर्थकले पार्टीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवारी दिन नपाउने व्यवस्था समेत गरिएको आयोगले जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्