किमको आक्रामक आदेश, कोरियाली प्रायद्वीपमा युद्धको छाया
उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य शक्तिलाई अझ आक्रामक र विनाशकारी बनाउन निर्देशन दिएलगत्तै दक्षिण कोरियाले पनि ड्रोन युद्ध क्षमता व्यापक रूपमा विस्तार गर्ने योजना सार्वजनिक गरेपछि कोरियाली प्रायद्वीप कोरियाली प्रायद्वीपमा युद्धको छाया परेको छ ।
राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार किमले बिहीबार विभिन्न हतियार परीक्षणको अवलोकन गर्दै सेनाको ‘घातक र विनाशकारी आक्रामक क्षमता’ सुदृढ बनाउन निर्देशन दिनुभएको हो ।
उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँगको वार्तामा फर्किन अस्वीकार गर्दै आणविक तथा परम्परागत सैन्य शक्ति विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा किमको यो सन्देश आएको हो ।
किमले अवलोकन गर्नुभएको परीक्षणमा रणनीतिक ब्यालेस्टिक क्षेप्यास्त्रका लागि विशेष वारहेड, उन्नत बहु–रकेट प्रक्षेपण प्रणाली तथा स्वचालित होवित्जरका लामो दूरीका गोलाहरूको प्रहार क्षमता परीक्षण गरिएको केसीएनएले जनाएको छ । परीक्षणले दक्षिणी सीमावर्ती क्षेत्रमा उत्तर कोरियाको आक्रमण क्षमता थप सुदृढ भएको दाबी गरिएको छ ।
किमले कुनै पनि शत्रुले आक्रमण गर्ने साहस नगर्ने गरी सेनाको आक्रामक क्षमता विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले शत्रु पक्षलाई निरन्तर भय र असुरक्षाको अवस्थामा राख्नु नै युद्ध रोकथामको प्रभावकारी उपाय भएको धारणा व्यक्त गर्नुभएको छ ।
उत्तर कोरियाले परीक्षण गरिएको विशेष वारहेड शत्रुको हवाई क्षेत्र, बन्दरगाह तथा ऊर्जा पूर्वाधारजस्ता महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याउन सक्षम रहेको दाबी गरेको छ ।
यता दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाबाट बढ्दो सैन्य चुनौती तथा रुसबाट प्राप्त प्रविधि सहयोगलाई ध्यानमा राख्दै आफ्नो ड्रोन क्षमता विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत लामो दूरीका विस्फोटक ड्रोन विकास गर्ने, २० हजारभन्दा बढी कम लागतका निगरानी तथा आक्रमण ड्रोन खरिद गर्ने तथा करिब पाँच लाख सैनिकलाई ‘ड्रोन योद्धा’का रूपमा तालिम दिने लक्ष्य राखिएको छ ।
दक्षिण कोरियाका रक्षामन्त्री आहन ग्यु–ब्याकले उत्तर कोरियाले रुसबाट प्रविधि हस्तान्तरण प्राप्त गरिरहेको दाबी गर्दै बदलिँदो युद्ध प्रवृत्तिअनुसार सक्रिय प्रतिक्रिया आवश्यक रहेको बताउनुभएको छ ।
उहाँका अनुसार आधुनिक युद्धमा कम लागतका ड्रोन र लोयटरिङ हतियारको महत्व तीव्र रूपमा बढिरहेको छ । रुस–युक्रेन युद्धले पनि यस्ता प्रविधिको प्रभावकारिता स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो ।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय वार्ता असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएको छ । त्यसयता किमले आधुनिक परम्परागत हतियार विकासलाई पनि उत्तिकै महत्व दिँदै आउनुभएको छ ।
यसै साता उत्तर कोरियाले पाँच हजार टन क्षमताको नयाँ विध्वंसक युद्धपोतलाई औपचारिक रूपमा सेवामा समावेश गरेको थियो । किमले उक्त युद्धपोतलाई देशको बढ्दो नौसैनिक तथा आणविक क्षमताको प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पटक–पटक वार्ताको प्रस्ताव गरे पनि किमले उत्तर कोरियाको आणविक निशस्त्रीकरणलाई पूर्वसर्त बनाउने नीति त्यागिएमा मात्र वार्ता सम्भव हुने संकेत गर्नुभएको छ ।
उहाँले दक्षिण कोरियालाई आफ्नो देशको प्रमुख शत्रुका रूपमा चित्रण गर्दै सीमावर्ती क्षेत्रमा थप सैन्य संरचना निर्माणलाई निरन्तरता दिइरहनुभएको छ ।
पछिल्ला वर्षहरूमा किमले युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै मस्कोसँग सम्बन्ध विस्तार गर्नुभएको छ । यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गरी किमसँग भेटवार्ता गर्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्