उत्कृष्ट विद्यार्थीलाई गोकर्णेश्वर–९ को सम्मान, प्रविधिसँगै संस्कारमा जोड
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षामा ३.५ जिपीएभन्दा माथि ल्याउने वडाभित्रका विद्यार्थीलाई सम्मान गरेको छ।
‘वडाध्यक्ष विद्यार्थी प्रोत्साहन कार्यक्रम’ अन्तर्गत पहिलो पटक सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत असार १३ गते शनिबार वडा कार्यालय आरुबारीमामा आयोजित विशेष समारोहमा वडाध्यक्ष राजिब थापा तथा वडा सदस्यहरूले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्नुभएको हो।
समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष थापाले विद्यार्थीहरूले किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि हासिल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पछिल्लो पुस्तामा नेपाली भाषाप्रतिको ज्ञान र प्रयोग कमजोर बन्दै गएको उल्लेख गर्दै मातृभाषा तथा नेपाली भाषामा दक्षता हासिल गर्न सुझाव दिनुभयो।
उहाँले आजका युवापुस्ता प्रविधिमा अत्यधिक व्यस्त हुँदा संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध तथा सामाजिक जीवनबाट टाढिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।
प्रविधिको सही उपयोग आवश्यक भए पनि त्यसप्रतिको अत्यधिक लगावले एक्लोपन, सामाजिक दूरी, अध्ययनमा एकाग्रताको कमी तथा मानसिक तनावजस्ता समस्या निम्त्याउन सक्ने भएकाले सन्तुलित प्रयोग आवश्यक रहेको उहाँको भनाइ थियो। प्रविधिसँगै संस्कार, सभ्यता र सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।
वडा सदस्य लक्ष्मी गुरुङ तथा श्रीकृष्ण कारञ्जितले उत्कृष्ट ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै भविष्यमा अझ बढी मेहनत, अनुशासन र लगनशीलताका साथ अघि बढ्न सुझाव दिनुभयो।
कार्यक्रममा पत्रकार यादब देवकोटाले विद्यार्थी तथा अभिभावकलाई समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न आग्रह गर्नुभयो। स्थानीय तहले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्पराले विद्यार्थीमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्ने उल्लेख गर्दै उहाँले यस्तो सम्मानले आत्मविश्वास बढाउने, अझ राम्रो गर्ने प्रेरणा प्रदान गर्ने तथा अन्य विद्यार्थीलाई पनि प्रतिस्पर्धात्मक रूपमा अध्ययनतर्फ आकर्षित गर्ने बताउनुभयो।
देवकोटाले आजका विद्यार्थीहरूकै हातमा मुलुकको भविष्य रहेको उल्लेख गर्दै असल र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो। हरेक कुरामा अरूमाथि मात्र निर्भर रहने प्रवृत्तिले समाज विकासमा अवरोध सिर्जना गरेको उल्लेख गर्दै उहाँले आफ्नो घरअगाडिको समस्या समाधानमा समेत स्वयं सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नवअरुणिमा विद्यालयकी सहायक प्रधानाध्यापक राधा बस्नेत (थापा)ले अध्ययनको विषय विद्यार्थीको रुचिअनुसार छनोट हुनुपर्नेमा जोड दिनुभयो। अभिभावकहरूले आफ्ना सन्तानलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी अनुशासित, सामाजिक तथा सिर्जनशील नागरिकका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो।
विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थितिमा सम्पन्न सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले आफूहरूमा थप हौसला र जिम्मेवारीबोध बढाएको प्रतिक्रिया दिएका थिए। उनीहरूले सम्मानले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा मिलेको बताए।
शिक्षाविद्हरूका अनुसार स्थानीय तहबाट गरिने यस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीमा आत्मसम्मान, नेतृत्व क्षमता तथा सकारात्मक प्रतिस्पर्धाको भावना विकास गराउँछ। यसले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्