जन सरोकार

बेलीब्रिज परीक्षण सफल, रसुवागढीमा सवारी सञ्चालन

गत वर्ष ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले रसुवागढीस्थित पक्की मितेरी पुल बगाएपछि प्रभावित बनेको नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार रसुवागढी नाका सहज बन्दै गएको छ।

अस्थायी रूपमा निर्माण गरिएको बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि आजदेखि रसुवागढी नाकाबाट चीनको केरूङतर्फ सवारीसाधनको आवतजावत पुनः सञ्चालनमा आएको हो।

बेलीब्रिजको क्षमता परीक्षणका लागि असार १५ गतेदेखि रोकिएको सवारी आवागमन चिनियाँ प्राविधिक टोलीले परीक्षण सफलतापूर्वक सम्पन्न गरेपछि चार दिनपछि पुनः सञ्चालनमा ल्याइएको हो।

यसअघि परीक्षणका लागि दुई दिनमात्र रोक लगाइने भनिए पनि प्राविधिक परीक्षण र आवश्यक मर्मतका कारण सञ्चालन चार दिनपछि मात्र सम्भव भएको हो।

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको भीषण बाढीले नेपाल–चीन सीमामा रहेको पक्की सिमेन्टको मितेरी पुल बगाएको थियो। त्यसपछि दुवै देशबीचको व्यापार तथा आवागमनलाई निरन्तरता दिन अस्थायी रूपमा बेलीब्रिज निर्माण गरिएको थियो।

वर्षायाममा उक्त पुल सुरक्षित र भरपर्दो छ वा छैन भन्ने सुनिश्चित गर्न चिनियाँ पक्षले प्राविधिक परीक्षण गर्दै केही दिनका लागि सवारी सञ्चालन स्थगित गरेको थियो।

इलाका प्रहरी कार्यालय टिमुरेका अनुसार पुलको परीक्षण सफलतापूर्वक सम्पन्न भएसँगै पुलका नट–बोल्ट पुनः कस्ने लगायतका प्राविधिक कामसमेत पूरा गरिएको छ। त्यसपछि आजदेखि साना तथा ठूला सवारीसाधन नियमित रूपमा सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी उपरीक्षक अशोक थापाका अनुसार सामान आयातका लागि २२ वटा कन्टेनरसहितका सवारीसाधन आजै केरूङतर्फ प्रस्थान गरेका छन्।

त्यस्तै चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगन फ्रुटलगायत फलफूल बोकेका ३३ वटा साना तथा ठूला सवारीसाधन नेपाल भित्रिएका छन्।

प्रहरीका अनुसार पुलको संरचनात्मक क्षमतालाई ध्यानमा राख्दै १४ फिटभन्दा बढी उचाइ भएका मालवाहक सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

चिनियाँ प्राविधिक टोलीले दुवै देशतर्फ पुलको प्रवेशबिन्दुमा १४ फिट उचाइको मापन डण्डी जडान गरेको छ। सो मापदण्डभन्दा अग्लो सामान लोड गरी सवारी सञ्चालन गर्न नपाइने भएकाले सम्बन्धित व्यवसायी र ढुवानीकर्तालाई त्यसको पालना गर्न आग्रह गरिएको छ।

प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले पुल पुनः सञ्चालनमा आएपछि चीनबाट हुने सामग्री आयात क्रमशः सहज बन्दै गएको बताउनुभयो।

उहाँका अनुसार परीक्षण अवधिमा रोकिएका केही मालवाहक सवारीसाधन भन्सार परिसरमा आइपुगेका छन् र अब नियमित रूपमा आयात–निर्यात प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

नेपाल–चीनबीचको व्यापारिक गतिविधिको प्रमुख केन्द्र मानिने रसुवागढी नाका सञ्चालनमा आउँदा खाद्यान्न, निर्माण सामग्री, विद्युतीय उपकरण, फलफूल तथा अन्य उपभोग्य वस्तुको आयात सहज हुने विश्वास गरिएको छ। बेलीब्रिज सञ्चालनसँगै केही समय प्रभावित बनेको उत्तरी नाकाको व्यापारिक गतिविधिले पुनः गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.