खेलफूटबल

पराग्वेको चुनौती पन्छाउँदै फ्रान्स क्वार्टरफाइनलमा, अब मोरक्कोसँग भिडन्त

विश्वकप फुटबल २०२६ को प्रमुख उपाधि दाबेदार फ्रान्सले पराग्वेको कडा चुनौतीलाई १–० ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। कठिन परिस्थितिमा पनि संयमित प्रदर्शन गर्दै फ्रान्सले उपाधि यात्रालाई निरन्तरता दिएको हो।

अमेरिकाको फिलाडेल्फियामा ३८ डिग्री सेल्सियसको अत्यधिक गर्मीबीच नेपाली समय अनुसार आइतबार विहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कप्तान केलियन एमबाप्पेले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको एकमात्र गोल नै फ्रान्सको जितका लागि निर्णायक बन्यो।

खेलको सुरुदेखि नै बलमाथि नियन्त्रण जमाए पनि अनुशासित र संगठित पराग्वेली रक्षापंक्तिलाई भेदन गर्न फ्रान्सलाई निकै संघर्ष गर्नुपरेको थियो।

पहिलो हाफभर दुवै टोलीले गोलको दिशामा प्रभावकारी प्रहार गर्न सकेनन्। खेलको ३६औँ मिनेटमा आफूमाथि भएको फाउलपछि एमबाप्पे आक्रोशित देखिनुभएको थियो, जसले फ्रान्समाथिको दबाब झल्काएको थियो।

दोस्रो हाफमा मैदान छिरेका युवा खेलाडी डिजायर खेलका ‘टर्निङ प्वाइन्ट’ सावित भए। मैदान प्रवेश गरेको चार मिनेटमै उनलाई पेनाल्टी क्षेत्रभित्र फाउल गरिएपछि भिडियो सहायक रेफ्री (भिएआर)को समीक्षा पश्चात् फ्रान्सले पेनाल्टी पायो। त्यसलाई एमबाप्पेले सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाउनुभयो।

यो गोलसँगै एमबाप्पे यस विश्वकपमा ७ गोलसहित गोल्डेन बुटको दौडमा लियोनल मेस्सीको बराबरीमा पुग्नुभएको छ। साथै, विश्वकप इतिहासमा उहाँको व्यक्तिगत गोल संख्या १९ पुगेको छ, जुन मेस्सीको कीर्तिमानभन्दा एक गोलले मात्र कम हो।

यो जितले सन् १९९८ को विश्वकपको सम्झना पनि ताजा गराएको छ। त्यसबेला पनि फ्रान्सले अन्तिम १६ मा पराग्वेलाई पराजित गर्दै अन्ततः विश्वकपको उपाधि जितेको थियो। वर्तमान प्रशिक्षक डिडियर डेसच्याम्प्स त्यस ऐतिहासिक टोलीका कप्तान हुनुहुन्थ्यो।

अब फ्रान्स क्वार्टरफाइनलका लागि बोस्टन जानेछ, जहाँ उसको सामना मोरक्कोसँग हुनेछ। मोरक्कोले यसअघि सहआयोजक क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरिसकेको छ।

सन् २०२२ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको मोरक्को यसपटक बदला लिने लक्ष्यमा हुनेछ भने फ्रान्स आफ्नो अनुभव, गहिरो टोली र उत्कृष्ट लयका आधारमा सेमिफाइनल प्रवेश गर्ने प्रबल दाबेदारका रूपमा मैदान उत्रिनेछ।

लगातार सन्तुलित प्रदर्शन, एमबाप्पेको उत्कृष्ट लय र अनुभवी प्रशिक्षक डेसच्याम्प्सको रणनीतिक नेतृत्वका कारण फ्रान्सलाई यस विश्वकपको उपाधि जित्ने सबैभन्दा बलिया दाबेदारमध्ये एक मानिएको छ। कठिन खेलमा पनि नतिजा निकाल्ने क्षमता देखाएको फ्रान्सले उपाधितर्फको आफ्नो दाबेदारी अझ मजबुत बनाएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.