राजनीति

सरकार संविधान र गणतन्त्र कमजोर बनाउने दिशामा अघि बढेको प्रचण्डको आरोप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकार सुशासन र विकासको एजेन्डाभन्दा संविधानले सुनिश्चित गरेका अधिकारहरू कमजोर पार्ने प्रयासमा केन्द्रित भएको दाबी गर्नुभयो।

“यो सरकार सुशासन र विकासका लागि बनेको होइन। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा महिला, दलित, आदिवासी–जनजातिलगायत समुदायले प्राप्त गरेका अधिकार खोस्ने र संविधानलाई कमजोर बनाउने दिशामा अघि बढिरहेको छ। त्यसप्रति सबै सचेत र एकजुट हुनुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो।

अध्यक्ष दाहालले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी संगठनमाथि अंकुश लगाउने, ट्रेड युनियन अधिकार कमजोर पार्ने तथा राष्ट्रिय सीमाका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम गरेको आरोप पनि लगाउनुभयो।

उहाँले यी विषयमा आफूले संसद्मा आवाज उठाइसकेको उल्लेख गर्दै सरकारका गतिविधिबारे थप विषय संसद्मा पनि उठाउने बताउनुभयो।

“सरकारका गतिविधिबारे बोल्नुपर्ने धेरै विषय छन्। संसद्मा पनि उपयुक्त समयमा ती सबै विषय उठाउनेछु,” उहाँले भन्नुभयो।

फरक प्रसंगमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनले विगतमा वर्ग संघर्ष, वैचारिक स्पष्टता र दीर्घकालीन रणनीतिलाई बेवास्ता गरेर कार्यनीतिमा बढी केन्द्रित हुनु ठूलो कमजोरी भएको स्वीकार गर्नुभयो।

“हामीले वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्‍यौं। तत्कालीन कार्यनीतिमै बढी अल्झियौं र त्यहीँबाट आन्दोलन कमजोर भयो। त्यसको मुख्य जिम्मेवारी म आफैं लिन्छु,” उहाँले भन्नुभयो।

आफू तीन पटक प्रधानमन्त्री भइसकेको स्मरण गराउँदै उहाँले विगतका कमजोरीको जिम्मेवारीबाट आफू नभाग्ने उल्लेख गर्नुभयो। ती कमजोरीबाट शिक्षा लिएर पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.