राजनीति

गणेश नेपालीको जीवन बचाउन अन्तिमसम्म प्रयास गर्‍यौँ : गृहमन्त्री गुरुङ

डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति, तीनजना महानगर प्रहरी नियन्त्रणमा

गृहमन्त्री सुधन गुरुङले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको जीवनरक्षाका लागि सरकारले अन्तिम क्षणसम्म हरसम्भव प्रयास गरेको बताउनुभएको छ।

उहाँले आवश्यक परे भारतमा थप उपचारका लागि लैजान एयर एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको भए पनि चिकित्सकीय प्रयास सफल हुन नसकेको जानकारी दिनुभयो।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले घटनाबारे सरकारको धारणा मागेपछि रोष्ट्रममा उक्लिएका गृहमन्त्री गुरुङ सुरुमै भावुक बनेर केहीबेर बोल्न सक्नुभएको थिएन।

उहाँ रोष्ट्रमबाट बाहिरिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पुनः सदनमा फर्काएपछि उहाँले सरकारको धारणा राख्नुभएको थियो।

सरकारले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन समिति गठन गरिएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो।

गृहमन्त्री गुरुङ घटनाको छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको र सोधपुछका लागि अहिले तीनजना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको जानकारी दिनुभयो ।

गृहमन्त्री गुरुङले नेपालीको आत्मदाहको घटनालाई सरकारले जरिवाना कडा बनाएका कारण घटेको आरोप लगाएपछि उहाँले त्यस विषयमा विधेयक मात्र बनेको र अहिले भैरहेको कारवाही पहिलेकै कानुन अनुसार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले गणेश नेपालीको मोटरसाइकलमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ह्वील लक नगरेको, बरु काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेको स्पष्ट पार्दै घटनालाई ट्राफिक प्रहरीसँग जोडेर प्रचार गरिनु तथ्यहीन भएको दाबी गर्नुभयो।

गृहमन्त्रीले देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार रहेको स्मरण गराउँदै घटनाको वास्तविक जिम्मेवारीबारे तथ्यका आधारमा बहस गर्न सांसदहरूलाई आग्रह गर्नुभयो।

“देशमा तीन तहको सरकार छ। जुन स्थानमा घटना भयो, त्यहाँ ट्राफिक प्रहरीले होइन, महानगर प्रहरीले ह्वील लक गरेको हो। तथ्य बुझेर मात्रै टिप्पणी गरौँ,” उहाँले भन्नुभयो।

उहाँले विपक्षी सांसदतर्फ संकेत गर्दै स्थानीय सरकार र प्रदेश सरकारको जिम्मेवारीबारे पनि प्रश्न उठाउनुभयो। “म विपक्षी साथीहरूलाई सोध्न चाहन्छु—स्थानीय सरकार कसको छ ? प्रदेश सरकार कसको छ ? नियम–कानुन संसद्ले बनाएको हो, सरकारले त्यही कानुन कार्यान्वयन गरेको हो,” उहाँले भन्नुभयो।

गृहमन्त्री गुरुङले घटनालाई राजनीतिक रंग नदिन आग्रह गर्दै मृतक गणेश नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो। कसैको व्यक्तिगत पीडा र दुःखद घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउन नहुने उहाँको भनाइ थियो।

“कसैको पीडामाथि राजनीति नगरौँ। देश बनाउन सबै जिम्मेवार बन्नुपर्छ। आफ्नो दायित्वबाट सरकार एक इन्च पनि पछि हट्दैन। सरकारले अन्तिम समयसम्म गणेश नेपालीको जीवन बचाउन अथक प्रयास गर्‍यो। दुर्भाग्यवश उहाँलाई बचाउन सकिएन,” गृहमन्त्री गुरुङले भन्नुभयो।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका गणेश नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ११:१९ बजे उहाँको मृत्यु भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.