राजनीति

नेपालको नक्सा हटाइएको सिक्का डिजाइन अस्वीकृत, नक्सा सहितको डिजाइन ल्याउन निर्देशन

नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्काबाट नेपालको नक्सा हटाएर मुस्ताङस्थित ऐतिहासिक घार गुम्बाको तस्वीर राख्ने गरी तयार पारेको नयाँ डिजाइन मन्त्रिपरिषद्ले अस्वीकृत गर्दै नेपालको नक्सासहित पुनः डिजाइन तयार गर्न निर्देशन दिएको छ।

एआई सिर्जित नमूना तस्वीर

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा सरकारले सिक्काबाट नेपालको नक्सा हटाउन खोजेको, चुच्चे नक्सा हटाएर राष्ट्रघाती कदम चालिएको जस्ता आरोपसहित व्यापक आलोचना भइरहेका बेला वास्तविकता भने फरक रहेको खुलेको हो।

मन्त्रिपरिषद्ले नक्सा हटाइएको डिजाइनलाई स्वीकृति नदिई त्यसमा नेपालको नक्सा समावेश गरेर पुनः प्रस्ताव ल्याउन नेपाल राष्ट्र बैंकलाई फिर्ता पठाएको हो।

नेपाल राष्ट्र बैंकको नोट तथा सिक्का डिजाइन समितिले नेपालको सबैभन्दा पुरानो बौद्ध सम्पदामध्ये मानिने मुस्ताङको करिब १,४०० वर्ष पुरानो घार गुम्बाको तस्वीर राख्ने गरी नयाँ डिजाइन तयार गरेको थियो।

उक्त डिजाइन राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृत भएपछि अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको थियो।

तर मन्त्रिपरिषद्ले यसअघि प्रचलनमा रहेको एक रुपैयाँको सिक्कामा नेपालको नक्सा रहेको स्मरण गराउँदै नयाँ डिजाइनमा पनि नक्सा समावेश गर्नुपर्ने भन्दै प्रस्ताव परिमार्जनका लागि फिर्ता पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्र बैंक स्रोतले पुष्टि गरेका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मुख्य सचिवले अर्थ सचिवलाई नयाँ डिजाइनमा नेपालको नक्सा समावेश गरेर मात्रै पुनः प्रस्ताव ल्याउन निर्देशन दिएका छन्। त्यसअनुसार अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई नयाँ डिजाइन तयार गर्न भनिएको छ।

सिक्काबाट नेपालको नक्सा हटाइएको भन्दै सामाजिक सञ्जालमा सरकारमाथि राष्ट्रघाती कदम चालेको, संविधान संशोधनपछि समेटिएको चुच्चे नक्सा हटाउन खोजिएको लगायतका आरोपसहित तीव्र आलोचना भएको थियो।

तर मन्त्रिपरिषद्को निर्णयले भने सरकार आफैंले नक्सा हटाइएको डिजाइनमा आपत्ति जनाउँदै त्यसलाई अस्वीकृत गरेको देखिएको छ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार घार गुम्बालाई सिक्कामा समेट्ने प्रस्तावको उद्देश्य नेपालको प्राचीन बौद्ध सम्पदालाई राष्ट्रिय मुद्रामार्फत चिनाउनु र पर्यटन प्रवर्द्धन गर्नु थियो। सिक्काको डिजाइन परिवर्तनको प्रक्रिया पनि वर्तमान सरकार गठन हुनुभन्दा धेरै अघिदेखि नै सुरु भएको राष्ट्र बैंकको दाबी छ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने कुनै राजनीतिक उद्देश्य थिएन। बरु डिजाइन समितिले सांस्कृतिक सम्पदा समेट्ने उद्देश्यले घार गुम्बाको चित्र प्रस्ताव गरेको थियो। तर मन्त्रिपरिषद्ले राष्ट्रिय पहिचानसँग जोडिएको नेपालको नक्सा पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने निष्कर्ष निकाल्दै प्रस्ताव फिर्ता गरेको हो।

नेपालले २०७७ सालमा संविधान संशोधन गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ चुच्चे नक्सालाई राष्ट्रिय निशान छापमा समावेश गरेको थियो। त्यसपछि जारी भएका १ र २ रुपैयाँका सिक्का तथा १०० रुपैयाँको नोटमा पनि सोही नक्सा प्रयोग गरिएको छ।

यही कारण नयाँ डिजाइनमा नक्सा हटाइएको विषय सार्वजनिक भएपछि त्यसलाई लिएर व्यापक चासो र आलोचना भएको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णयले भने नक्सा हटाइएको डिजाइनलाई स्वीकार नगरी नक्सासहितकै डिजाइन ल्याउन निर्देशन दिएको स्पष्ट भएको छ।

१ रुपैयाँका सिक्कामा अंकित गर्न लागिएको मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको घार गुम्बा (लो घेकर गुम्बा) नेपालको सबैभन्दा पुरानो बौद्ध गुम्बामध्ये एक मानिन्छ। आठौं शताब्दीमा गुरु पद्मसम्भवले स्थापना गरेको विश्वास गरिएको यो गुम्बा नेपालको मात्र होइन, विश्वकै प्राचीन बौद्ध सम्पदामध्ये एक हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.