राजनीति

अघिल्लो दशक कांग्रेसमा सिद्धान्तभन्दा शक्ति हाबी : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो एक दशकलाई पार्टी र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला दिन’को संज्ञा दिनुभएको छ।

मंगलबार महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले २०७२ देखि २०८२ सालसम्मको दशकलाई कांग्रेस र देश दुवैका लागि निराशाजनक समय भएको बताउनुभएको हो।

उहाँले पछिल्ला दस वर्षमा पार्टीभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमै सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हाबी भएको टिप्पणी गर्नुभयो। सत्ता प्राप्तिका लागि राजनीतिक नेतृत्वले नागरिकका अपेक्षा, राष्ट्रिय मुद्दा र लोकतान्त्रिक मूल्य–मान्यतालाई समेत बेवास्ता गरेको उहाँको आरोप थियो।

“२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली कांग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि अँध्यारो वर्ष रहे। ती काला दिन रहे। त्यस अवधिमा केवल सत्ता, सत्ता र शक्ति, शक्तिको मात्रै राजनीति भयो। त्यसका लागि अरू सबै कुराको तिलाञ्जली दिइयो,” उहाँले भन्नुभयो।

सभापति थापाले आफू सिद्धान्तप्रति प्रतिबद्ध कार्यकर्ताका रूपमा राजनीतिमा आएको उल्लेख गर्दै सिद्धान्तका लागि जुनसुकै कठिनाइ भोग्न तयार रहेको बताउनुभयो। असिद्धान्तको बाटो रोज्नुभन्दा संघर्ष र बलिदान स्वीकार गर्न आफू तयार रहेको उहाँको भनाइ थियो।

उहाँले पछिल्लो दशकको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक विश्वास जगाउन नसकेको स्वीकार गर्नुभयो। “हामीले युवालाई कांग्रेस किन रोज्ने भन्ने विश्वसनीय आधार दिन सकेका छैनौँ,” भन्ने आशय व्यक्त गर्दै उहाँले पार्टीले आत्मसमीक्षा गर्दै सिद्धान्त, विचार र जनविश्वासको राजनीतिमा फर्किनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.