राजनीति

आफूखुसी निर्वाचन क्षेत्र नजान रास्वपा सांसदलाई पार्टीको निर्देशन

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई पार्टीको जानकारीविना आफूखुसी निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमण नजान निर्देशन दिएको छ ।

मंगलबार पार्टी महामन्त्री विपिनकुमार आचार्यले एक परिपत्र जारी गर्दै सांसदलाई भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय, जनसंवाद र साङ्गठनिक सुदृढीकरणबारे पाँचबुँदे निर्देशन जारी गर्दै सो निर्देशन दिइएको हो ।

सांसदको भ्रमण औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जनअभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ुरणनीतिक अभियानु हुनुपर्ने पार्टीको निर्देशनमा उल्लेख छ ।

रास्वपाले सांसदलाई दिएका मुख्य पाँच निर्देशन

संस्थागत समन्वय र पूर्वसूचना : कुनै पनि जिल्ला वा क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुपर्ने छ। आफ्नो क्षेत्रबाहेक अन्यत्र जाने कार्यक्रम भएमा सम्बन्धित सांसद र पार्टी संयन्त्रलाई सूचित गरी समन्वय गर्नुपर्ने छ।

स्थानीय मुद्दाको प्राथमिकीकरण : स्थानीय समितिसँग पूर्वछलफल गरी त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दा पहिचान गर्ने र ती समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न कार्यसूचीमा प्राथमिकता दिने।

साङ्गठनिक अपनत्व र जनपरिचालन : कार्यक्रमको स्वरूप (मोडालिटी) तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी सञ्चालन गर्ने।

मितव्ययिता र सुशासन : भ्रमण तथा कार्यक्रमहरूलाई तडकभडक र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राखी स्रोतसाधनको मितव्ययी उपयोगद्वारा सुशासनको सन्देश प्रवाह गर्ने।

नीतिगत पृष्ठपोषण प्रणाली : जनभ्रमणका क्रममा प्राप्त सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत प्रतिवेदनलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्ने।

सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक भएकाले सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्‍याउने र जनताप्रतिको जवाफदेहितालाई थप कसिलो बनाउने महामन्त्री आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.