राजनीति

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो ।

अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएको छ । विशेषगरी अमेरिकी सहयोग नियोग (युएसआइडी) मार्फत अर्लिग्रेड रिडिङ र लर्निङ कार्यक्रमका साथै कलेज अफ एजुकेसनमा अमेरिकी सरकारको सहयोग रहँदै आएको छ ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

वर्तमान सरकारले शिक्षा क्षेत्रमा विभिन्न सुधार गरिरहेको स्मरण गराउँदै उहाँले विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनको काम भइरहेको तथा सैद्धान्तिकभन्दा पनि व्यावहारिक पाठ्यक्रम बनाउन मन्त्रालय अघि बढेको बताउनुभयो ।

साथै उहाँले पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममै समावेश गर्नेगरी पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको जानकारीसमेत दिनुभयो ।

मन्त्री पोखरेलले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको र सोही आधारमा आगामी दिनमा आवश्यकताअनुसार विद्यालयहरूमा बजेट विनियोजन गरिने बताउनुभयो । साथै, भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि द्विपक्षीय समझदारीमार्फत आवश्यक सहयोग गर्न आफ्नो देश सकारात्मक रहेको बताउनुभयो ।

उहाँले नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले पहलकदमी लिएको विभिन्न सुधारका कार्यक्रमबारे अमेरिकी सरकार जानकार रहेको भन्दै त्यसमा सहयोग र सहकार्य गर्न अमेरिका सधैँ तत्पर रहेको बताउनुभएको थियो । सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिका सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.