जापानका वैज्ञानिकहरूले अल्जाइमर्स रोगको सुरुवात गराउने मुख्य जैविक संयन्त्र (मोलिक्युलर मेकानिज्म) को एउटा महत्वपूर्ण रहस्य पत्ता लगाएका छन्।
उनीहरूले मस्तिष्कमा अल्जाइमर्ससँग सम्बन्धित एमाइलोइड (बिटा (एबी) प्रोटिनको जमघट सुरु गराउने ‘बीउ’ (सिड) को पहिचान गरेका छन्।
यस खोजलाई वैज्ञानिकहरूले अल्जाइमर्सको प्रारम्भिक चरणमै रोग रोक्न सक्ने नयाँ उपचार र रोकथाम प्रविधि विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
टोकियोस्थित राष्ट्रिय स्नायु तथा मानसिक स्वास्थ्य केन्द्र (एनसीएनपी) को नेतृत्वमा गरिएको यो अनुसन्धान अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल ब्रेन कम्युनिकेसन्स मा प्रकाशित भएको हो। अनुसन्धान टोलीले उक्त नयाँ अणुलाई ‘पिक–१ एमाइलोइड–बिटा’ नाम दिएको छ।
अल्जाइमर्स कसरी सुरु हुन्छ ?
अल्जाइमर्स संसारभर सबैभन्दा धेरै देखिने डिमेन्सियाको प्रमुख कारण हो। यस रोगमा मस्तिष्कका स्नायु कोशिकाबीच सञ्चार गर्ने क्षमता क्रमशः कमजोर हुँदै जान्छ।
बिरामीमा सुरुमा सामान्य बिर्सने समस्या देखिए पनि समयसँगै स्मरणशक्ति, निर्णय क्षमता, भाषा, दैनिक काम गर्ने क्षमता र व्यक्तित्वसम्म प्रभावित हुन्छ।
विगत धेरै वर्षदेखि वैज्ञानिकहरू अल्जाइमर्सको प्रमुख कारणका रूपमा एमाइलोइड–बिटा नामक प्रोटिनलाई मान्दै आएका थिए। तर यो प्रोटिन मस्तिष्कमा किन र कसरी पहिलोपटक जम्मा हुन थाल्छ भन्ने प्रश्नको स्पष्ट उत्तर थिएन।
जापानी अनुसन्धानले यही रहस्य उजागर गर्ने प्रयास गरेको छ। वैज्ञानिकहरूका अनुसार ‘पिक–१ एमाइलोइड–बिटा’ नै यस्तो प्रारम्भिक ‘बीउ’ हो, जसले अन्य एमाइलोइड–बिटा अणुहरूलाई आकर्षित गर्दै ठूलो जमघट (प्लाक) बनाउन सुरु गराउँछ। यही प्रक्रिया अगाडि बढ्दै जाँदा स्नायु कोशिका नष्ट हुन थाल्छन् र अन्ततः अल्जाइमर्सका लक्षण विकसित हुन्छन्।
शव परीक्षणदेखि मुसासम्म सफल अनुसन्धान
अनुसन्धान टोलीले अल्जाइमर्सका बिरामीहरूको शव परीक्षण पछि प्राप्त मस्तिष्क र रोगको नमुना बनाइएका वृद्ध मुसाको मस्तिष्कमा समान प्रकारको उच्च आणविक तौल भएको एमाइलोइड–बिटा समूह फेला पारेको थियो।
त्यसपछि वैज्ञानिकहरूले उक्त पिक–१ एमाइलोइड–बिटा लाई कम उमेरका अल्जाइमर्स नमुना मुसाको मस्तिष्कको हिप्पोक्याम्पस भागमा प्रविष्ट गराए। परीक्षणपछि करिब दुई महिनामै ती मुसाको मस्तिष्कमा एमाइलोइड–बिटाको जमघट तीव्र रूपमा सुरु भएको देखियो।
यसले पिक–१ एमाइलोइड–बिटा वास्तवमै रोग सुरु गराउने ‘बीउ’ भएको प्रमाणित गरेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
उपचार विकासमा किन महत्वपूर्ण ?
जापानी सञ्चारमाध्यमहरूले यो अनुसन्धानलाई अल्जाइमर्स उपचारको रणनीतिमा महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्। हाल उपलब्ध अधिकांश औषधिले मस्तिष्कमा जमिसकेको एमाइलोइड–बिटालाई हटाउने प्रयास गर्छन्। तर रोग सुरु भइसकेपछि उपचारको प्रभाव सीमित हुने गरेको छ।
नयाँ अनुसन्धानले भने रोग सुरु नै हुन नदिन सकिने सम्भावनातर्फ संकेत गरेको छ। यदि पिक–१ एमाइलोइड–बिटा लाई प्रारम्भिक चरणमै निष्क्रिय बनाउन सकियो भने एमाइलोइड–बिटाको जमघट बन्न नदिई अल्जाइमर्सको विकासलाई धेरै वर्षसम्म ढिल्याउन वा रोक्न सकिने सम्भावना वैज्ञानिकहरूले औँल्याएका छन्।
अझै अनुसन्धान आवश्यक
अनुसन्धानकर्ताहरूले यो उपलब्धिलाई तत्काल उपचारको रूपमा लिन नहुने पनि स्पष्ट पारेका छन्। हालसम्मको परीक्षण मुख्यतः प्रयोगशाला र जनावरमा आधारित नमुना अध्ययनमा गरिएको भएकाले अब मानिसमा यसको प्रभावकारिता र सुरक्षा पुष्टि गर्न थप अनुसन्धान तथा मानव परीक्षण आवश्यक रहनेछ।
विश्वव्यापी चुनौती
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करोडौँ मानिस डिमेन्सियाबाट प्रभावित छन्, जसमा अधिकांश बिरामी अल्जाइमर्सका हुन्। जनसंख्याको वृद्धिसँगै यसको संख्या अझ बढ्ने अनुमान गरिएको छ। त्यसैले रोग सुरु गराउने जैविक प्रक्रियाको पहिचान भविष्यको उपचार विज्ञानका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
हालै प्रकाशित अन्य अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पनि एमाइलोइड–बिटाको संरचना, मस्तिष्कमा यसको स्नायु कोशिकासँगको अन्तरक्रिया तथा स्मरणशक्तिमा पर्ने प्रभावबारे नयाँ प्रमाण प्रस्तुत गरिरहेका छन्। यसले अल्जाइमर्सको प्रारम्भिक पहिचान र लक्षित उपचार विकासमा विश्वव्यापी अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको देखाउँछ।
जापानी वैज्ञानिकहरूको यो खोजले अल्जाइमर्स रोगबारे दशकौँदेखि रहेको एउटा महत्वपूर्ण प्रश्न—‘एमाइलोइड–बिटाको जमघट वास्तवमा कहाँबाट सुरु हुन्छ ? को सम्भावित उत्तर दिएको छ।
यदि पिक–१ एमाइलोइड–बिटा लाई लक्षित गर्ने औषधि वा प्रतिरक्षा उपचार सफलतापूर्वक विकास गर्न सकियो भने भविष्यमा अल्जाइमर्सको उपचार मात्र होइन, रोग सुरु हुनुअघि नै त्यसलाई रोक्ने नयाँ युगको सुरुआत हुन सक्ने अपेक्षा गरिएको छ।
समाचार र तस्वीर स्रोत जापानटाइम्स




प्रतिक्रिया राख्नुहोस्