राजनीति

ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै रास्वपा सांसद बब्लु गुप्तालाई जरिबाना

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई जरिबाना तिराएको छ ।

प्रहरीले उहाँलाई रु पाँच सय जरिबाना तिराएको हो । गुप्ताको गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उहाँ कारबाहीमा पर्नुभएको हो । सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।

गुप्ताले यसअघि उक्त कार्यको आलोचना बढेपछि सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमा माग्नुभएको थियो ।गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । उहाँ सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुभएको छ ।

गुप्ताले फेसबुकमा लेख्नुभएको छ, “अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु। अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु!”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.