राजनीति

वीर पुर्खाको त्यागकै कारण नेपालीले गौरवका साथ शिर उठाउन सके : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाहरूको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपालीहरू गौरवका साथ शिर उठाएर उभिन सकेको बताउनुभएको छ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षबाट प्रेरणा लिएर मात्र वर्तमानप्रति न्याय गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताउनुभयो। कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो।

राष्ट्रपति पौडेलले भन्नुभयो, “हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। यसले नै भविष्य निर्माणको सुनौलो बाटो तय गर्छ भन्ने मेरो विश्वास छ।”

उहाँले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै राष्ट्रप्रेमप्रतिको आस्था र प्रतिबद्धता कुनै पनि अवस्थामा कमजोर हुन नदिन आग्रह गर्नुभयो।

राष्ट्रपति पौडेलले “यही एकताको बलमा मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावना जागृत गर्नुपर्छ। हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गर्दै सुशासनमार्फत देश विकासलाई तीव्र बनाउन जुट्नुपर्छ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ,” भन्नुभयो।

उहाँले भीमसेन थापालाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि कहिल्यै नझुक्ने बहुआयामिक व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो।

देशभक्ति उहाँको मूलमन्त्र रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अंग्रेजसँगको युद्धमा नेपालले ठूलो मूल्य चुकाउनुपरे पनि भीमसेन थापाको अटल राष्ट्रभक्तिपूर्ण अडानकै कारण नेपालको स्वतन्त्र अस्तित्व जोगिन सफल भएको धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.