जापान

समुद्रको ६ किलोमिटर गहिराइमा दुर्लभ खनिज उत्खननको परीक्षण गर्ने जापानको घोषणा

जापानले आगामी फेब्रुअरीमा प्रशान्त महासागरस्थित आफ्नो दुर्गम टापु नजिक समुद्रको करिब ६ किलोमिटर गहिराइबाट दुर्लभ पृथ्वी खनिज (रेयर अर्थ) उत्खननको पूर्णस्तरीय परीक्षण गर्ने घोषणा गरेको छ।

यसअघि गहिरो समुद्री अनुसन्धान अभियानले सफलतापूर्वक समुद्री सतहबाट करिब ६ हजार मिटर तलबाट नमुना संकलन गरेपछि जापानले यो योजना सार्वजनिक गरेको हो।

जापानका प्रधानमन्त्री साने ताकाइचीले यस वर्ष गहिरो समुद्री ड्रिलिङ जहाजमार्फत मिनामी तोरिशिमा टापु नजिकबाट सङ्कलन गरिएका नमुनामा दुर्लभ खनिज इट्रियम भेटिएको जानकारी दिनुभयो।

प्रधानमन्त्री ताकाइचीका अनुसार इट्रियम विश्वमै दुर्लभ मानिने खनिज हो। यसको प्रयोग अर्धचालक (सेमिकन्डक्टर) उत्पादन उपकरणमा प्रयोग हुने कोटिङ सामग्री, सवारीसाधन तथा अर्धचालक उद्योग, साथै प्रदूषण नियन्त्रणका लागि नाइट्रोजन अक्साइड हटाउने उत्प्रेरक (क्याटालिस्ट) निर्माणमा गरिन्छ।

त्यसैले यो जापानका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण खनिज भएको उहाँले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उल्लेख गर्नुभएको छ। उहाँले यस सफलताका आधारमा आगामी फेब्रुअरीमा पूर्णस्तरीय समुद्री उत्खनन परीक्षण सञ्चालन गरिने बताउनुभयो।

प्रधानमन्त्री ताकाइचीले दुर्लभ खनिजको आपूर्ति कुनै एक देशमा मात्र निर्भर नहोस् भन्ने उद्देश्यले सरकार र निजी क्षेत्रको संयुक्त सहभागितामा आपूर्ति शृङ्खला (सप्लाई चेन)लाई थप सुरक्षित र बलियो बनाइने पनि बताउनुभयो।

उता, जापान समुद्री–पृथ्वी विज्ञान तथा प्रविधि निकायले समुद्री सतहबाट निकालिएको करिब ५० टन सामग्रीमा इट्रियमसँगै ग्याडोलिनियम र डिस्प्रोसियम नामका अन्य दुर्लभ पृथ्वी खनिज पनि फेला परेको जनाएको छ।

यसअघि गत मार्चमा प्रधानमन्त्री ताकाइचीले मिनामी तोरिशिमा वरपरको समुद्री क्षेत्रमा दुर्लभ खनिज उत्खननका विषयमा संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्नेबारे छलफल गर्ने बताउनुभएको थियो। टोकियोबाट करिब २ हजार किलोमिटर टाढा रहेको यो प्रवाल टापुलाई मिनामितोरिशिमा नामले पनि चिनिन्छ।

यसअघिका विभिन्न अध्ययनले उक्त टापु वरपरको समुद्री सतहमा करोडौं टन दुर्लभ पृथ्वी खनिज रहेको अनुमान गरेका छन्। ती खनिजले जापानलाई सयौं वर्षसम्म आवश्यक पर्ने केही रणनीतिक खनिजको आपूर्ति सुनिश्चित गर्न सक्ने विश्वास गरिएको छ।

यद्यपि वातावरण संरक्षणसम्बन्धी संस्थाहरूले गहिरो समुद्री उत्खननले समुद्री जैविक प्रणाली र पारिस्थितिकीय सन्तुलनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्।

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार हाल विश्वको दुर्लभ पृथ्वी खनिज उत्खननको करिब दुईतिहाइ र प्रशोधित उत्पादनको ९२ प्रतिशत हिस्सा चीनको नियन्त्रणमा छ। यही कारण जापान, अमेरिका तथा अन्य विकसित मुलुकहरूले चीनमाथिको निर्भरता घटाउँदै आफ्नै वैकल्पिक स्रोत विकास गर्न जोड दिइरहेका छन्।

गत नोभेम्बरमा प्रधानमन्त्री ताकाइचीले ताइवान सम्बन्धी अभिव्यक्तिपछि चीनसँग कूटनीतिक तनाव बढेको थियो। त्यसपछि चीनले जापानतर्फ हुने दुर्लभ खनिजको आपूर्तिमा कडाइ गरेको बताइएको छ।

यसैबीच, जापानी अधिकारीहरूले सर्वसाधारणको बसोबास नरहेको तथा पर्यटकका लागि निषेध गरिएको मिनामी तोरिशिमा टापुलाई आणविक फोहोर व्यवस्थापन स्थलका रूपमा प्रयोग गर्न सकिने सम्भावनाबारे प्रारम्भिक अध्ययन पनि अघि बढाइने बताएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.