विश्व समाचार

डेन्यूब नदीमा पानी घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ युद्धपोत फेरि देखिए

युरोपको दोस्रो लामो नदी डेन्यूबमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ जर्मन युद्धपोत फेरि देखिन थालेका छन् ।

पानीको सतह घट्दै जाँदा नदीमा नौवहन प्रभावित भएको छ भने ऊर्जा उत्पादनदेखि नदी यातायातसम्ममा असर परेको छ । सर्बियाको प्रहोवो बन्दरगाह नजिक, सर्बिया र रोमानियाको सीमावर्ती क्षेत्रमा डुबाइएका युद्धपोतका खिया लागेका संरचना नदीमाथि देखिन थालेका छन् ।

केही जहाजमा नाजी झण्डा फहराइएका भाँचिएका खम्बासमेत अझै देख्न सकिन्छ । तीमध्ये केही युद्धपोतमा अहिले पनि विस्फोटक तथा हतियार रहेको विश्वास गरिएको छ ।

इतिहासकारहरूका अनुसार सन् १९४४ को सेप्टेम्बरमा सोभियत सेनाको अग्रगमन रोक्ने उद्देश्यले नाजी जर्मनीले डेन्यूबको प्रहोवो क्षेत्रनजिक करिब २०० युद्धपोत जानाजानी डुबाएको थियो । यद्यपि केही महिनापछि सन् १९४५ को मेमा नाजी जर्मनीले आत्मसमर्पण गरेको थियो ।

यी पुराना युद्धपोत हटाउने प्रयास विगतदेखि हुँदै आए पनि अधिकांश जहाजमा अझै विस्फोटक सामग्री रहेकाले काम जटिल बनेको छ । कम्युनिस्ट शासनकालमा तत्कालीन युगोस्लाभियाले केही युद्धपोत हटाएको भए पनि धेरै नदीमै बाँकी छन् । अहिले युरोपेली सङ्घ ९इयु० को आर्थिक सहयोगमा सर्बियाले नदीलाई सुरक्षित र सहज बनाउने प्रयास अघि बढाइरहेको छ ।

डेन्यूब नदी १० वटा युरोपेली मुलुक हुँदै बग्ने प्रमुख जलमार्ग हो । तर यस वर्षको अत्यधिक गर्मी र खडेरीका कारण पानीको सतह उल्लेखनीय रूपमा घटेपछि नदी यातायातमा कठिनाइ उत्पन्न भएको छ ।

पानीको कमीले केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा समेत असर परेको छ भने मध्य तथा पूर्वी युरोपका केही सरकारले ऊर्जा बचतका उपाय अपनाएका छन् ।

विज्ञहरूले असामान्य गर्मी र खडेरीलाई जलवायु परिवर्तनसहित अन्य वातावरणीय कारणसँग जोड्दै आएका छन् । प्रहोवोका स्थानीय बासिन्दा क्रिस्टा ब्रान्डिकले पानीको सतह अत्यधिक घटेका कारण ठूला जहाजको आवागमन लगभग ठप्प भएको बताउँदै अहिले नदी पार गर्नसमेत कठिनाइ भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.