भोटेकोशी बाढी : उद्धार कार्य तीव्र, हालसम्म १२ जनाको सकुशल उद्धार
चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको भीषण बाढीपछि रसुवाको टिमुरे, स्याफ्रुबेँसी, धुन्चेलगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार अभियान सञ्चालन गर्दै हालसम्म १२ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।
नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये केहीलाई सुरक्षित स्थानमा पुर्याइएको छ भने आवश्यक उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको सेनाले जनाएको छ।
प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।
मौसम अनुकूल रहेसम्म हेलिकोप्टरमार्फत फसेका नागरिकको उद्धार, राहत सामग्री ढुवानी तथा घाइतेको उपचारका लागि निरन्तर उडान भइरहेको छ।
नेपाली सेनाले त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक चिकित्सकीय सेवा सञ्चालन गरेको जनाएको छ। सेनाको मेडिकल टोलीले घाइते तथा बिरामीको प्राथमिक उपचार गरिरहेको छ भने आवश्यक परे थप उपचारका लागि अन्य अस्पतालमा पठाउने व्यवस्था मिलाइएको छ।

यसअघि सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्यकर्मीलाई परिचालन गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको थियो।
त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा बस्न तथा अनावश्यक रूपमा नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ।
सुरक्षा निकायका अनुसार बाढी प्रभावित क्षेत्रको क्षतिको यकिन विवरण सङ्कलन, बेपत्ता व्यक्तिको खोजी तथा थप उद्धार कार्य जारी छ। मौसम र नदीको बहावलाई निरन्तर निगरानीमा राखेर उद्धार अभियान सञ्चालन भइरहेको सेनाले जनाएको छ।
हिमाली क्षेत्रमा भएको अत्यधिक वर्षा, हिमताल फुट्ने वा पहिरोका कारण नदी थुनिएर एक्कासि आउने बाढीका कारण भोटेकोशी–त्रिशूली नदी प्रणाली विगतदेखि नै उच्च जोखिममा पर्दै आएको छ।
अघिल्लो वर्ष तिब्बतको लोङ्दे क्षेत्रमा आएको बाढीले रसुवागढी नाका, मितेरी पुल, सडक सञ्जाल र व्यापारिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। यसपटक पनि तिब्बततर्फबाट आएको आकस्मिक बाढीले सीमावर्ती क्षेत्रमा क्षति पुर्याएपछि सरकारले तत्काल खोज, उद्धार र राहत अभियान सुरु गरेको हो।




प्रतिक्रिया राख्नुहोस्