जापान

भोटेकोशी बाढीपीडितका लागि जापानी व्यवसायी क्षेत्रबाट दुई करोड येन सहयोग

टोकियो । रसुवा जिल्लामा भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नेपालीका लागि जापानको व्यावसायिक क्षेत्रबाट ठूलो आर्थिक सहयोग प्राप्त भएको छ।

जापानमा रहेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै दुई जापानी कम्पनीले राहत तथा पुनःस्थापनाका लागि कुल दुई करोड येन सहयोग गरेका छन्।

टोकियोस्थित सीजीसी जापान कम्पनी लिमिटेड (सीजीसी समूह) का प्रमुख कार्यकारी अधिकृत अत्सुहिरो होरिउचीसहित कम्पनीका प्रतिनिधिहरूले नेपाली राजदूतावास टोकियो पुगेर बाढीपहिरोमा परी ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली तथा शोक व्यक्त गर्दै कम्पनीका तर्फबाट एक करोड येन राहत सहयोग प्रदान गर्नुभएको हो ।

त्यसै गरी, टोकियोस्थित दासाई कम्पनी लिमिटेडले पनि बाढीपीडित नेपालीका लागि एक करोड येन आर्थिक सहयोग उपलब्ध गराएको छ।

दुवै कम्पनीबाट प्राप्त सहयोगले विपद्को कठिन समयमा जापानको निजी तथा व्यावसायिक क्षेत्रले नेपाल र नेपाली जनताप्रति देखाएको सद्भाव र ऐक्यबद्धतालाई प्रतिबिम्बित गरेको छ।

विपद्पछि नेपाललाई विदेशी मित्रराष्ट्र, अन्तर्राष्ट्रिय सहयोगी संस्था तथा विभिन्न दातृ निकायबाट राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता र सहयोग प्राप्त हुँदै आएको छ।

नेपाली दूतावासले दूतावासले सहयोगका लागि दुवै जापानी कम्पनीलाई नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद तथा हार्दिक आभार प्रकट गरेको जनाएको छ।

भोटेकोशी बाढीले रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् संरचना तथा स्थानीय बस्तीमा समेत गम्भीर क्षति पुर्‍याएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.