भोटेकोसी बाढी : चिलिमे आयोजनाको सुरुङबाट तीन शव फेला
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा तीनवटा शव फेला परेका छन्। तीमध्ये दुईवटा शव बाहिर निकालिएको छ भने एउटा शव निकाल्ने कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार बुधबार विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङसम्म पुगेर खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको थियो।
टोलीले हेलिकप्टरमार्फत स्याफ्रुबेँसीमा पुर्याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोड्दै करिब एक हजार ५० मिटर बाटो निर्माण गरेर सुरुङसम्म उपकरण पुर्याएको थियो।
त्यसपछि सुरुङभित्र जम्मा भएको माटो, ढुंगा तथा अन्य भग्नावशेष (डेब्रिस) हटाउने कार्य निरन्तर गरिएको थियो। डेब्रिस हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको प्वाल फेला परेको सेनाले जनाएको छ।

उद्धार टोली सोही प्वालबाट सुरुङभित्र प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गरेको थियो। तर, सुरुङमा पानीको सतह माथिल्लो भागसम्म पुगेका कारण एक्स्काभेटरलगायत उपकरण प्रयोग गर्न कठिन भएको थियो।
त्यसपछि भदौ ३१ गते गोताखोरसहितको संयुक्त उद्धार टोलीले पानी निस्किएको प्वालबाट सुरुङभित्र प्रवेश गरी अन्तिम भागसम्म खोजी गरेको थियो। सो क्रममा तीनवटा शव फेला परेका हुन्।
फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिसकिएको र अर्को एउटा शव बाहिर निकाल्ने कार्य भइरहेको सेनाले जनाएको छ। सुरुङभित्र थप व्यक्ति वा शव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

भदौ १० गतेको भोटेकोसी बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण जलविद्युत् आयोजना, सडक, पुललगायतका संरचनामा समेत व्यापक क्षति पुगेको छ।
तस्वीर स्रोत नेपाली सेनाको फेसबुकपेज





प्रतिक्रिया राख्नुहोस्