जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा कराँतेतर्फ नेपालले पदकको नजिक पुगेर पनि निराश हुनुपरेको छ।
पदकको प्रमुख दाबेदार मानिएकी एरिका गुरुङसहित राकेश मानन्धर र मीनबहादुर तामाङ सेमिफाइनलमा पराजित भएपछि नेपाल कराँतेमा पदकविहीन भएको हो।
पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी एरिकालाई यसपटक नेपालका लागि ऐतिहासिक स्वर्ण पदक दिलाउने सम्भावना भएकी खेलाडीका रूपमा हेरिएको थियो।
तर नागोयास्थित तोयोहासी जिम्नेसियममा भएको महिला ६८ केजीमाथिको कुमितेको सेमिफाइनलमा उहाँ काजकस्तानकी सोफ्या बेरुल्सेभासँग २–१ ले पराजित हुनुभयो।
त्यसपछि कास्य पदकका लागि भएको रिपिचेज भिडन्तमा पनि एरिका साउदी अरबकी मुस्तफा डिना अहमदसँग ८–७ ले पराजित हुनुभयो।
यसअघि एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासिरलाई ७–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउनुभएको थियो।
एरिकाको पराजय नेपालका लागि विशेष रूपमा निराशाजनक रह्यो, किनकि उहाँले यसअघि चीनको हाङचउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्नुभएको थियो।
महिला ६८ केजीमाथिको कुमितेमा एरिकाले फाइनलसम्मको यात्रा तय गर्दै नेपाललाई कराँतेको इतिहासमै पहिलो रजत पदक दिलाउनुभएको थियो। फाइनलमा भने उहाँ सोही काजकस्तानी खेलाडी बेरुल्सेभासँग पराजित हुनुभएको थियो।
एसियाली खेलकुदमा कराँतेको पदक इतिहास
एसियाली खेलकुदमा कराँते सन् १९९४ को हिरोसिमा संस्करणदेखि समावेश भएको हो। त्यसयता नेपालले कराँतेबाट चार पदक जितेको छ।
नेपालका लागि कराँतेको पहिलो एसियाली पदक सन् १९९४ मा सीता राईले जित्नुभएको थियो। हिरोसिमा एसियाडमा उहाँले कास्य पदक जित्नुभएको थियो। त्यसको चार वर्षपछि बैंककमा भएको १९९८ एसियाली खेलकुदमा सम्भरबहादुर गोलेले कराँतेबाट अर्को कास्य पदक थप्नुभएको थियो।
त्यसपछि लामो अन्तरालपछि सन् २०१४ मा इन्चोन एसियाडमा विमला तामाङले महिला एकल कातामा कास्य पदक जित्नुभयो।
कराँतेमा नेपालको सबैभन्दा ठूलो सफलता भने एरिकाको नाममा छ। सन् २०२३ मा सम्पन्न १९औँ एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथिको कुमितेमा रजत पदक जित्दै कराँतेमा नेपालको पहिलो रजत पदक जित्नुभएको थियो। उहाँको पदक नेपालले एसियाली खेलकुदको इतिहासमा जितेको तेस्रो रजत पदकसमेत थियो।
यसरी एसियाली खेलकुदमा कराँतेबाट नेपालले हालसम्म एक रजत र तीन कास्य गरी चार पदक जितेको छ। तर कराँतेमा स्वर्ण पदक भने अझै नेपालको प्रतीक्षामै छ।
तीन खेलाडीको चुनौतीपूर्ण यात्रा
यसपटक राकेश मानन्धरले पुरुष ५५ केजीमुनिको कुमितेमा उत्कृष्ट सुरुआत गर्नुभएको थियो। उहाँले थाइल्यान्डका नथाक्रित इंग्लोएलाई ९–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउनुभएको थियो। तर अन्तिम चारको खेलमा उज्वेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जोसँग ७–० ले पराजित हुनुभयो।
त्यसपछि कास्य पदकका लागि भएको खेलमा राकेश मलेसियाका कालियाना सुन्द्रामसँग ९–१ ले पराजित हुनुभयो। सुन्द्रामले उक्त खेल जित्दै मलेसियालाई पुरुष ५५ केजीमुनिको कुमितेमा कास्य पदक दिलाउनुभयो।
मीनबहादुर तामाङले पनि ६० केजीमुनिको कुमितेमा लगातार दुई खेल जित्दै पदकको सम्भावना देखाउनुभएको थियो। उहाँले प्रि–क्वार्टरफाइनलमा हङकङका चाउ का हिमलाई ४–१ र क्वार्टरफाइनलमा ताजकिस्तानका मोहम्मद मिर्जोजोदालाई २–० ले पराजित गर्नुभएको थियो।
तर सेमिफाइनलमा मीनबहादुर कुवेतका साबन अब्दुल्लाहसँग १०–० ले पराजित हुनुभयो। कास्य पदकका लागि भएको खेलमा पनि उहाँ साउदी अरबका अल्बासेर साउद अब्दुलाजिजसँग २–० ले पराजित भएपछि पदकबाट वञ्चित हुनुभयो।
कराँतेको पहिलो दिन नेपालका लागि सानुमाया थिङको प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेन। महिला एकल कातामा उहाँ दक्षिण कोरियाकी ह्युन चोईसँग पहिलो चरणमै ५–० ले पराजित हुनुभयो।
यससँगै २०औँ एसियाली खेलकुदको पहिलो दिन कराँतेमा नेपालले पदकको सम्भावना देखाए पनि तीन खेलाडी अन्तिम चारमा पुगेर रोकिए।
विशेषतः अघिल्लो एसियाडकी रजत पदक विजेता एरिकाबाट स्वर्णको अपेक्षा गरिएको अवस्थामा यसपटक पदक नै हात नपर्नु नेपालको कराँते टोलीका लागि निराशाजनक परिणाम बनेको छ।
तथापि, विगतका चार एसियाली पदकले नेपालका लागि कराँतेलाई एसियाली खेलकुदमा पदक दिलाउने महत्वपूर्ण खेलका रूपमा स्थापित गरेको इतिहास भने कायम छ।





प्रतिक्रिया राख्नुहोस्