राजनीति

‘मेरो छोरो फिर्ता ल्याइदिनुस्, अहिल्यै सांसद पद छाड्छु’ : सांसद रचना खतिवडा (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा मंगलबार संसद्को विशेष समयमा बोल्दै भावविह्वल हुनुभयो। उहाँले रुँदै आफ्नो छोरो जीवित फर्काइदिए आफू तत्काल सांसद पद छाड्न तयार रहेको बताउनुभयो।

केही दिनअघि एक अभियन्ताले जेनजी आन्दोलनमा शहीद भएका छोराको ‘लास बेचेर सांसद बनेको’ टिप्पणी गरेको प्रसङ्ग उठाउँदै उहाँले संसद्को रोस्ट्रममा उभिएर उहाँले भन्नुभयो, ‘मेरो छोरो फिर्ता ल्याइदिनुस्, म अहिल्यै सांसद पद छाड्छु।’

उहाँले आफ्ना छोराछोरीसँगै रहेका अभिभावकलाई सम्बोधन गर्दै आफ्नो अवस्था सम्झिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूका छोराछोरी तपाईंसँग छन्। उनीहरूसँग हाँस्न, खेल्न र भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ, मेरो काख रित्तिएको छ” ।

त्यसपछि उहाँले आफूलाई सांसद पदको लोभ रहेको भन्ने टिप्पणीप्रति प्रश्न गर्दै भन्नुभयो, ‘यदि कसैले मेरो छोरालाई जीवित फर्काएर मेरो काखमा ल्याइदिने हो भने म तत्काल सांसद पद छाड्न तयार छु। सक्छ कसैले ?’

‘न्याय पाएपछि एक सेकेन्ड पनि पदमा बस्दिनँ’

जेनजी आन्दोलनमा छोरा गुमाउनुभएकी खतिवडा समानुपातिक सांसद बन्नुभएको हो। उहाँले आफ्नो संसदीय यात्रालाई पद प्राप्तिको अवसरभन्दा आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारका लागि न्यायको आवाज उठाउने माध्यमका रूपमा व्याख्या गर्दै आउनुभएको छ।

मंगलबार पनि उहाँले आफू सांसद पदमा रहन इच्छुक नभएको स्पष्ट पार्दै न्याय प्राप्तिलाई आफ्नो प्राथमिकता भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउनुहुन्छ, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन” ।

उहाँका अनुसार संसद्मा पुग्नुको उद्देश्य सत्ता र पदको निरन्तरता होइन, आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउने वातावरण निर्माण गर्न सरकारलाई खबरदारी गर्नु हो।

खतिवडाले आफूलाई “छोराको लाससँग सांसद पद साटेक” भन्ने आरोपले आफ्नो व्यक्तिगत पीडामाथि थप चोट पुगेको बताउनुभयो।उहाँले राजनीतिक आलोचना र प्रश्न गर्न पाउने अधिकार भए पनि सन्तान गुमाएकी आमाको पीडालाई व्यक्तिगत आक्षेपको विषय नबनाउन आग्रह गर्नुभयो। ‘आमाको माया र ममतामाथि राजनीतिक प्रहार नगर्नुस्,’ उहाँले भन्नुभयो।

उहाँले आफ्नो राजनीतिक यात्रालाई पनि यही पीडासँग जोड्नुभयो। ‘मेरो छोरो शहीद भयो, मैले अब मेरो छोरो जस्तो अरू छोरा मर्न नपरोस् भन्ने चाहना लिएर यहाँ आएकी हुँ,’ उहाँले भन्नुभयो।

‘मेडिकल माफिया बन्न राजनीतिमा आएकी होइन’

खतिवडाले आफू सामान्य नागरिकलाई उचालेर आपसमा भिडाउने, त्यसको बलमा नेता बन्ने वा ‘मेडिकल माफिया’ बन्ने उद्देश्यले राजनीतिमा नआएको पनि स्पष्ट पार्नुभयो।

उहाँका अनुसार जेनजी आन्दोलनमा सन्तान गुमाएका परिवारका पक्षमा खबरदारी गर्न र उनीहरूले न्याय पाउने वातावरण बनाउन आफ्नो संसद् यात्रा अघि बढेको हो।

उहाँले आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारको न्यायको विषयलाई राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि राख्नुपर्ने बताउनुभयो।

सांसद खतिवडाले जेनजी शहीदकी आमामाथि सार्वजनिक रूपमा टिप्पणी हुँदा सरकार मौन बसेको भन्दै सरकारको भूमिकामाथि समेत प्रश्न उठाउनुभयो। उहाँले आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्यायको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो।

‘सरकारको भूमिका खोई ?’ उहाँले प्रश्न गर्नुभयो। ‘हाम्रा छोराहरूको रगत अझै सुकेको छैन। न्यायको आभास हुने गरी काम गर्नुहोस्,’ उहाँले सरकारलाई आग्रह गर्नुभयो।

उहाँले आफ्नो पीडालाई जेनजी आन्दोलनमा सन्तान गुमाएका अन्य परिवारको न्यायको प्रश्नसँग जोड्नुभएको थियो। संसद् राजनीतिक मतभेद, आलोचना र प्रतिवादको थलो हो।

राजनीतिक व्यक्तिको विगत, भूमिका र उद्देश्यबारे प्रश्न उठ्नु बहसको स्वाभाविक हिस्सा भए पनि सन्तान गुमाएकी आमाको व्यक्तिगत पीडामाथि गरिने टिप्पणीले राजनीतिक बहसको मर्यादाबारे प्रश्न उठाउने उहाँको भनाइ थियो।

खतिवडाले आफ्नो सांसद पदलाई स्थायी उपलब्धिका रूपमा नभई न्यायका लागि आवाज उठाउने जिम्मेवारीका रूपमा प्रस्तुत गर्नुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.