राजनीति

जलविद्युत् आयोजनाका कर्मचारीको खोजी जारी छ : मन्त्री श्रेष्ठ (भिडियो)

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बाढीबाट भएको मानवीय र ऊर्जा क्षेत्रको क्षति तथा हालसम्मका प्रयास र भावी योजनाबारे जानकारी गराउँदै उहाँले सुरूङहरुका हराइरहेकाहरुको नेपाली सेना र विदेशी विज्ञको समन्वयमा निरन्तर खोजी भइरहेको जानकारी दिनुभएको हो । बाढीपछि नेपाल विद्युत् प्राधिकरण र अन्य आयोजनाका ९०० जना हराइरहेका छन् ।

“सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामथ्र्य परिचालन गरेका छौँ । अहिलेको हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनःस्थापना गर्नु र क्षतिग्रस्त विद्युत् सडक, पुल लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु हो ।

प्रभावित नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सवोच्च जिम्मेवारी हो ।”, मन्त्री श्रेष्ठले भन्नुभयो, “पीडाको यो घडीमा सरकार नागरिकसँगै छ । जनताको पीडा र आँसुमा राज्यको पनि संवेदना जोडिएको छ । पक्कै पनि हामी शोक र पीडामा छौँ । तर, निराशामा छैनौँ । आँखा रसाएका छन्, तर आशा मरेको छैन । घाउ गहिरो छ । यद्यपि, मल्हम लगाउन प्रयत्नशील छौँ ।”

मन्त्री श्रेष्ठले बाढीबाट ११ आयोजना बन्द भएका जानकारी दिँदै माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा एक हजार ४३३ जना कार्यरत मध्ये ९५५ जनाको सकुशल उद्धार गरिएको बताउनुभयो ।

प्रारम्भिक मूल्याङ्कनअनुसार समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि रु तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख आवश्यक पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रसेवा रहँदा रहँदै बाढीबाट सम्पर्कविहीन भएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल रु पाँच लाख राहत र छ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी मन्त्री श्रेष्ठले दिनुभयो ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.