न्यूयोर्कमा समकक्षीसँगको भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री खनाल
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँगको भेटवार्तामा व्यस्त हुनुभएको छ ।
यस क्रममा उहाँले नेपालमा हालै आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आग्रह गर्नुभएको छ ।
मन्त्री खनालले आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा द्विपक्षीय ‘साइडलाइन’ भेटवार्ता गर्नुभयो । भेटवार्तामा उहाँले बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग सहयोगको आग्रह गर्नुभयो ।
मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशीलता, विपद् पूर्वतयारी तथा क्षमता अभिवृद्धिमा थप लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको छ । यस क्रममा जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानी अत्यावश्यक छ ।”
मन्त्री खनालले नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पु¥याउँदै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएकोमा जोड दिनुभयो ।
सो अवसरमा जर्मनीकी मन्त्री राडोभानले नेपालमा पछिल्लो पटक उत्पन्न ‘विनाशकारी विपद्’लाई विश्वव्यापी साझा चुनौतीका रूपमा लिनुपर्ने बताउँदै जर्मनी नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
भेटवार्तामा नेपाल–जर्मनीबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान हुनुका साथै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
यसैगरी, मन्त्री खनालले राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरसँग पनि भेटवार्ता गर्नुभयो । बुधबार भएको भेटवार्तामा उपविदेशमन्त्री हुकरले नेपाललाई बाढीपछिको पुनर्निर्माण तथा प्रभावित समुदायको सहयोगका लागि अमेरिकी सहायता उपलब्ध गराउने जानकारी दिनुभयो ।
अमेरिकाले बाढीपछिको पुनर्निर्माणका लागि एक करोड अमेरिकी डलर प्रदान गर्ने योजना रहेको उपविदेशमन्त्री हुकरले बताउनुभयो । उहाँले बाढी प्रभावित समुदायका लागि खानेपानी तथा सरसफाइका साथै आवास र जीविकोपार्जनका क्षेत्रमा थप ८० लाख अमेरिकी डलर प्रदान गर्ने घोषणा गर्नुभयो ।
त्यसैगरी, मन्त्री खनाल र आइसल्यान्डका परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबीच पनि भेटवार्ता भएको छ ।
मन्त्री खनालको निजी सचिवालयका अनुसार भेटवार्तामा दुवै मन्त्रीबीच जलवायुजन्य विपद् तथा जोखिम न्यूनीकरणमा साझेदारीलगायत विषयमा छलफल भएको थियो ।
उहाँहरूले भोटेकोशी बाढी तथा त्यसपछिको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबै पक्षको समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
जलवायु परिवर्तनका बढ्दो जोखिम, क्षमता अभाव तथा स्रोतसाधनको सीमिततालाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा पनि दुवै मन्त्रीले जोड दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्