हिमालमा बदलिँदो मौसमको संकेत : असोजको पहिलो सातामै कोरला नाकामा हिमपात
असोजको पहिलो साता नै उत्तरी हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। बिहीबार बिहानदेखि भइरहेको निरन्तर वर्षाबीच समुद्री सतहबाट ४ हजार ६१० मिटरको उचाइमा रहेको नेपाल–चीन सीमा क्षेत्रको कोरला नाकामा बिहीबार रातिदेखि हिमपात भएको छ।
असोजको सुरुमै हिमरेखाभन्दा तलसम्म हिमपात र उच्च क्षेत्रमा मौसममा देखिएको यस्तो परिवर्तनले हिमाली क्षेत्रमा बदलिँदो मौसमी चक्र र जलवायु परिवर्तनको प्रभावबारे थप गम्भीर हुनुपर्ने संकेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बिहीबारदेखि मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ। वर्षासँगै कोरला नाका क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन्।
हिमपातका कारण सीमावर्ती क्षेत्रमा आवतजावत प्रभावित हुनुका साथै निकासी–पैठारीका कन्टेनर तथा ढुवानीका साधन सञ्चालनमा समेत समस्या देखिएको छ।
भोटेकोशी बाढीका कारण रसुवाको केरुङ नाका प्रभावित भएका बेला कोरला क्षेत्रमा समेत हिमपात भएपछि उत्तरी सीमा हुँदै हुने व्यापारिक आवागमनमा थप चुनौती देखिएको हो।
हिमपातका कारण उपल्लो मुस्ताङका सीमावर्ती क्षेत्रका सडक तथा यातायातमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
लोमान्थाङ आसपासका बस्तीमा भने भारी वर्षा भइरहेको छ। एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार बस्तीभन्दा माथिका उच्च लेक क्षेत्रमा आंशिक हिमपात भइरहेको छ। यसले असोजको सुरुमै हिमाली भूभागमा वर्षा र हिमपातको स्वरूप फरक देखिन थालेको संकेत गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले यसअघि नै बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने पूर्वानुमान गरेका थिए।
मौसम प्रतिकूलताका कारण बाढी, पहिरो र नदी कटानको जोखिम बढ्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङले काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मको सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले बताउनुभयो।
यसैगरी घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालीगण्डकी नदीको सतह बढेर जोखिम सिर्जना हुनसक्ने भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरेर तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
लगातारको वर्षाले मुस्ताङका पुराना ढुङ्गा र माटोले निर्मित परम्परागत घरहरूमा समेत जोखिम बढाएको छ। घरपझोङ–५, ठिनीकी स्थानीय सरिता थकालीका अनुसार पुराना घरहरू निरन्तरको वर्षाका कारण चुहिन थालेका छन् भने गारो भत्किने जोखिमसमेत बढेको छ। वर्षाबाट घर जोगाउन स्थानीयले छत र गारोमा त्रिपाल तथा प्लास्टिकले ढाक्न थालेका छन्।
असोजको सुरुमै हिमाली क्षेत्रमा देखिएको असामान्य वर्षा–हिमपातको यो घटनालाई तत्कालै जलवायु परिवर्तनको प्रत्यक्ष परिणामका रूपमा निष्कर्ष निकाल्न नमिले पनि बदलिँदो मौसम र चरम मौसमी घटनाप्रति गम्भीर हुनुपर्ने सन्देशका रूपमा लिन सकिन्छ।
विशेषगरी हिमाली क्षेत्रमा तापक्रम वृद्धि, वर्षा र हिमपातको स्वरूपमा भइरहेको परिवर्तनले हिमनदी, हिमताल, नदी प्रणाली, कृषि, पर्यटन, पूर्वाधार र हिमाली बस्तीको सुरक्षामा दीर्घकालीन प्रभाव पार्न सक्ने भएकाले यस्ता घटनाको वैज्ञानिक अभिलेखीकरण र निरन्तर अध्ययन आवश्यक देखिन्छ।




प्रतिक्रिया राख्नुहोस्