प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रिहा गरी अब उहाँकै निवासमा सुरक्षा प्रदान गर्ने भएको छ। सुरक्षा खतरासम्बन्धी सूचना आएपछि प्रहरीले आइतबार बिहान उहाँलाई निगरानीमा लिएर सुरक्षित स्थानमा राखेको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार जबराको सुरक्षामा खतरा हुनसक्ने सूचना आएपछि प्रहरीले उहाँलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको हो।
उहाँले जबरालाई पक्राउ नगरिएको स्पष्ट पार्दै सुरक्षाका लागि मात्र प्रहरीको निगरानीमा राखिएको बताउनुभयो। “उहाँको विषयमा अलिकति थ्रेट भन्ने कुराहरू आयो। उहाँको सुरक्षाका लागि मात्रै हामीले ल्याएको हो। पक्राउ होइन,” खड्काले भन्नुभयो।
खड्काका अनुसार जबराको सुरक्षाका विषयमा प्रहरी संवेदनशील रहेको र उहाँमाथि आक्रमण हुनसक्ने आपत्कालीन सूचना आएपछि तत्काल सुरक्षा व्यवस्था मिलाइएको थियो।
उहाँले भन्नुभयो, “उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ, केही सुरक्षा खतराको कुरा आयो। प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ, जबराले आफूलाई निवासमै सहज हुने बताएपछि अब उहाँकै घरमा सुरक्षा व्यवस्था मिलाइनेछ।”




प्रतिक्रिया राख्नुहोस्