विश्व समाचार

अमेरिकासँग ‘प्रलयकारी युद्ध’का लागि इरान तयार : विदेशमन्त्री अब्बास अराघ्ची

इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले अमेरिकासँग ‘प्रलयकारी युद्ध’ हुन सक्ने अवस्थाका लागि आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः खोल्ने तेहरानको प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गरेपछि अराघ्चीले यस्तो प्रतिक्रिया दिनुभएको हो।

आइतबार स्थानीय समयअनुसार एनबीसी न्युजको कार्यक्रम ‘मिट द प्रेस’मा अन्तर्वार्ता दिँदै अराघ्चीले इरान नयाँ सैन्य आक्रमणको सामना गर्न तयार रहेको बताउनुभयो।

सेप्टेम्बर २७ मा भएको अन्तर्वार्ताका क्रममा अराघ्चीले *द वाल स्ट्रिट जर्नल*को एउटा रिपोर्टबारे पनि प्रतिक्रिया दिनुभयो। उक्त रिपोर्टमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले इरानको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार गर्नुभएको र नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः बमबारी गर्ने अपेक्षा आफ्ना सहयोगीहरूसमक्ष व्यक्त गर्नुभएको उल्लेख थियो।

यसअघि यही साता संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानलाई समाप्त पार्ने चेतावनीसमेत दिनुभएको थियो।

“युद्ध पुनः सुरु भएमा त्यसका लागि हामी पूर्ण रूपमा तयार छौँ। नयाँ जुनसुकै आक्रमणको सामना गर्न हामी दृढ छौँ, चाहे त्यो प्रलयकारी युद्धकै रूपमा किन नहोस्। हामीलाई अमेरिकी मध्यावधि निर्वाचनको चासो छैन। हामी आफ्ना राष्ट्रिय हितका विषयमा चिन्तित छौँ,” अराघ्चीले एनबीसी न्युजसँग भन्नुभयो।

उहाँले कूटनीतिका लागि पनि इरान तयार रहेको बताउँदै त्यसको निर्णय अब राष्ट्रपति ट्रम्पले गर्नुपर्ने उल्लेख गर्नुभयो।

ट्रम्पले इरानको प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गर्नुभएको विषयमा प्रतिक्रिया दिँदै अराघ्चीले उक्त अस्वीकृतिबारे निर्धारित कूटनीतिक माध्यमबाट तेहरानलाई औपचारिक जानकारी भने नदिइएको बताउनुभयो।

उहाँले द्वन्द्व अन्त्य गर्ने विषयमा हुने वार्ताको सहमतिका रूपमा होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान अझै तयार रहेको दोहोर्‍याउनुभयो।

“हामीलाई हाम्रा रकम र गैरकानुनी रूपमा रोक्का गरिएका सम्पत्तिहरू फुकुवा भएको चाहिन्छ। हामीलाई आफ्नो तेल बिक्री गर्न सक्ने अवस्था चाहिन्छ,” अराघ्चीले भन्नुभयो।

उहाँका अनुसार यी सर्तहरू यसै वर्ष जुनमा अस्थायी युद्धविरामका लागि अमेरिका र इरानबीच भएको समझदारीपत्र (एमओयू) मा समावेश सर्तसँग मिल्दोजुल्दो छन्। तर पारस्परिक आक्रमणपछि उक्त युद्धविराम सम्झौता केही समयमै भंग भएको थियो।

“हामीलाई सोध्नुहुन्छ भने अब हामी कूटनीतिमा फर्किनुपर्ने कुनै कारण छैन। तर म अझै पनि कूटनीतिक प्रयास गरिरहेको छु, किनभने शान्तिका लागि उपलब्ध कुनै पनि अवसर गुमाउनु हुँदैन भन्ने मेरो धारणा छ,” अराघ्चीले भन्नुभयो।

इरानी प्रस्तावप्रति अमेरिकाको कडा असहमति

इरानको प्रस्तावप्रति कडा असहमति जनाउँदै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले अराघ्चीको अन्तर्वार्ताअघि ‘मिट द प्रेस’ कार्यक्रममा वासिङ्टनले विभिन्न कारणले उक्त प्रस्ताव अस्वीकार गरेको बताउनुभएको थियो।

उहाँका अनुसार इरानले रोक्का गरिएका अर्बौँ डलर बराबरका रकम तथा सम्पत्तिमा पहुँच पाउनुपर्ने माग गर्नु प्रस्ताव अस्वीकार गर्नुको प्रमुख कारणमध्ये एक हो।

“उनीहरूले अस्वीकार्य हुने कुरा आफैँलाई थाहा हुँदाहुँदै त्यस्तो प्रस्ताव अघि सारेको जस्तो देखिन्छ। नाकाबन्दी र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउन तथा अर्बौँ डलर बराबरको रोक्का सम्पत्तिमा पहुँच माग्नु त्यसैको एउटा प्रयास हो,” वाल्ट्जले भन्नुभयो।

वाल्ट्जले अहिले इरानमा निर्णय कसले गरिरहेको छ भन्ने प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय जलक्षेत्रमा व्यापारिक पानीजहाजमाथि आक्रमण गरेर तेहरानले यसअघि भएका समझदारी उल्लंघन गरेको आरोपसमेत लगाउनुभयो।

“केही महिनाअघि मात्रै हामीले प्रयास गरिसकेका छौँ। त्यसपछि अहिले राष्ट्रपतिमा विश्वासको स्तर धेरै नरहेको कुरा सामान्य बुझाइको विषय हो,” वाल्ट्जले भन्नुभयो।

उहाँले अमेरिकी प्रशासन दीर्घकालीन रूपमा आणविक अप्रसारको विषयमा केन्द्रित रहेको बताउँदै विश्वलाई इरानले आणविक हतियारमार्फत बन्धक बनाउने अवस्थाबाट सुरक्षित राख्न राष्ट्रपतिले सबै विकल्प खुला राख्ने उल्लेख गर्नुभयो।

सातदिने युद्धविरामको इरानी प्रस्ताव

यसअघि बिहीबार इरानी विदेशमन्त्री अराघ्चीले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्न इरानले सातदिने योजना प्रस्ताव गरेको बताउनुभएको थियो। उक्त योजनाअन्तर्गत होर्मुज जलडमरूमध्य पुनः खोल्ने र त्यसपछि इरानको आणविक कार्यक्रमबारे व्यापक वार्ता सुरु गर्ने प्रस्ताव गरिएको थियो।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अराघ्चीले उक्त प्रस्ताव यसै वर्ष जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्रसँग मिल्दोजुल्दो रहेको बताउनुभएको थियो।

“हामीले मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष एउटा योजना प्रस्तुत गरेका छौँ। त्यसमा निश्चित सर्त पूरा भएमा सातौँ दिनको अन्त्यमा होर्मुज जलडमरूमध्य खोलिने र वार्ता पुनः सुरु हुने प्रस्ताव छ। अमेरिकी मध्यावधि निर्वाचनअघि नै सम्झौता हुनु राम्रो हुनेछ,” उहाँले भन्नुभएको थियो।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले महत्वपूर्ण समुद्री व्यापारिक मार्गसँग सम्बन्धित उक्त क्षेत्रीय व्यवस्थाको प्रस्तावलाई पुनः अस्वीकार गर्नुभएको छ। इरानको सरकारी निकट ‘स्टुडेन्ट न्युज नेटवर्क’ (एसएनएन)का अनुसार ट्रम्पले प्रस्तावप्रति कडा प्रतिक्रिया जनाउँदै, “म यो सम्झौता अस्वीकार गर्छु,” भन्नुभएको थियो।

“उनीहरू तत्काल होर्मुज जलडमरूमध्य खोलिने गरी सम्झौता गर्न चाहन्छन्, किनभने उनीहरू गम्भीर रूपमा असफल भइरहेका छन्,” ट्रम्पले भन्नुभएको थियो।

इरानले अघि सारेको शान्ति प्रस्ताव अमेरिकाबाट अस्वीकृत भएसँगै पश्चिम एसियाको तनाव आगामी दिनमा थप चर्किन सक्ने आकलन गरिएको छ। विशेषगरी अमेरिकी मध्यावधि निर्वाचनपछि अमेरिका–इरानबीचको तनाव तथा क्षेत्रीय सैन्य गतिविधि थप तीव्र हुन सक्ने देखिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.