भोटेकोशी बाढीपछि पुनर्निर्माणमा एआईआईबीको सहयोग खोज्दै नेपाल
सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको भौतिक क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)सँग अन्तर्राष्ट्रिय सहयोग र सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनका लागि आग्रह गरेको छ।
एसियाली पूर्वाधार लगानी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा पुग्नुभएका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भएको भेटवार्तामा नेपालले विपद्पछिको पुनर्निर्माणसँगै पूर्वाधार विकासमा बैंकको लगानी विस्तारका लागि आग्रह गर्नुभएको हो।
भेटमा अर्थमन्त्री डा. वाग्लेले भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, प्राकृतिक विपद्पछिको उत्थानशील पुनर्निर्माण तथा नेपालमा एआईआईबीको लगानी विस्तारका लागि सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले विशेषगरी सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्दै विपद्पछिको पुनर्निर्माणलाई तीव्रता दिन आवश्यक रहेको बताउनुभयो।
भेटका क्रममा एआईआईबी अध्यक्ष जोउले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले विपद्पछिको उत्थानशील पुनर्निर्माणका लागि बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष जोउले एआईआईबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउन सकिने बताउनुभयो।
साथै, ‘स्पेसलाइज्ड फन्ड विन्डो’अन्तर्गतको अनुदान उपयोग गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा उहाँले राख्नुभयो।
एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत अध्यक्ष जोउले दोहोर्याउनुभयो।
सो अवसरमा अर्थमन्त्री डा. वाग्लेले नवनिर्वाचित अध्यक्ष जोउलाई बधाई दिँदै एआईआईबीले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले बैंकको लगानीमा सञ्चालन भइरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकसम्बन्धी अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो।
अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीबाट भएको क्षतिप्रति दुःखसमेत व्यक्त गर्नुभयो।
नेपालले मध्यमकालीन तथा दीर्घकालीन विकासका लागि हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै अर्थमन्त्री वाग्लेले एआईआईबीको आफ्नै स्रोतसँगै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गरिदिन आग्रह गर्नुभयो।
भोटेकोशी बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि नेपालले पुनर्निर्माणका लागि आन्तरिक स्रोतसँगै अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोग जुटाउने प्रयास तीव्र बनाएको छ।
विपद्पछिको पुनर्निर्माणलाई तत्कालीन राहतमा सीमित नराखी भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने गरी उत्थानशील पूर्वाधार निर्माणमा केन्द्रित गर्ने आवश्यकता पनि बढेको छ।
भेटवार्ताका क्रममा अर्थमन्त्री डा. वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनुभयो। नेपाल भ्रमणका क्रममा एआईआईबीको लगानीमा सञ्चालन तथा प्रस्तावित परियोजनाका साथै विपद्पछिको पुनर्निर्माण र दीर्घकालीन पूर्वाधार विकासमा सहकार्यका विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्