शक्तिशाली आँधी ‘सुरिगे’कारण ओकिनावा, अमामी तथा कान्तो क्षेत्रमा जोखिम बढ्यो
जापानतर्फ अघि बढिरहेको शक्तिशाली आँधी ‘सुरिगे’का कारण ओकिनावा, अमामी तथा कान्तो क्षेत्रसम्म तीव्र हावा, भारी वर्षा र उच्च छालको जोखिम बढेको छ।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले सुरिगेलाई यस वर्षको २६औँ नाम दिइएको आँधी तथा ‘अत्यन्त शक्तिशाली’ आँधीका रूपमा वर्गीकरण गरेको छ भने अमेरिकी सेनाको संयुक्त टाइफुन चेतावनी केन्द्र (जेटीडब्ल्यूसी)ले यसलाई ‘सुपर टाइफुन’का रूपमा वर्गीकरण गरेको छ।
जापान टाइम्सका अनुसार सुरिगे प्रारम्भमा पूर्व–उत्तरपूर्वतर्फ अघि बढेर पछि जापानको इजु द्वीपतर्फ मोडिने र बिहीबारतिर तोकाइ तथा कान्तो क्षेत्रनजिक पुग्ने अनुमान गरिएको छ।
त्यतिबेलासम्म आँधी कमजोर हुने सम्भावना रहे पनि शक्तिशाली हावा र वर्षाले जनजीवन, यातायात तथा पूर्वाधारमा क्षति पुर्याउन सक्ने जोखिम छ।
सुरिगेको प्रत्यक्ष केन्द्र ओकिनावा हुँदै जाने सम्भावना कम भए पनि त्यहाँ उच्च छाल र तीव्र हावाको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। तीव्र हावाले रुख तथा बिजुलीका पोल ढाल्नुका साथै घर तथा अन्य संरचनामा क्षति पुर्याउन सक्छ।
भारी वर्षाले पहिरो, बाढी र सडक अवरुद्ध हुने जोखिमसमेत बढाउने भएकाले प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाको काम प्रभावित हुन सक्ने चिन्ता छ।
विशेषगरी गत साता आएको आँधी ‘दुजुआन’बाट क्षति बेहोरेका क्षेत्रमा नयाँ वर्षा र हावाले थप क्षति निम्त्याउन सक्ने जोखिम देखिएको छ।
दुजुआनका कारण चिबा, मियाजाकी र कानागावा प्रिफेक्चरमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने पहिरोबाट सयौँ घरमा क्षति, बाढीबाट कृषि क्षेत्रमा ठूलो नोक्सानी तथा सडक र सार्वजनिक यातायात सेवामा अवरोध भएको थियो।
हजारौँ घरमा खानेपानी आपूर्ति प्रभावित भएकामा सोमबारसम्म करिब ४७० घरमा समस्या कायमै रहेको बताइएको थियो। यसैबीच, सुरिगेको प्रभावका कारण पश्चिमी तथा पूर्वी जापानमा साताको अन्त्यतिर भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
कान्तो–कोसिन क्षेत्रमा यसै सेप्टेम्बरमा वर्षाको रेकर्ड बनेको र दुजुआनको प्रभावका बेला सेप्टेम्बर २१ मा २४ घण्टामा अत्यधिक वर्षा भएको अवस्थामा थप वर्षाले बाढी र पहिरोको जोखिम बढाउन सक्छ।
टोकियोमा सोमबारसम्म लगातार ३३ दिन वर्षा भएको छ, जुन सन् २०१९ को गर्मीयाममा बनेको रेकर्डसँग बराबर हो। आगामी केही दिन पनि वर्षाको सम्भावना रहेकाले टोकियोमा लगातार वर्षाको नयाँ रेकर्ड बन्न सक्ने अनुमान गरिएको छ।
लामो समयदेखि वर्षा भइरहेका कारण जमिनमा पानीको मात्रा बढेको अवस्थामा थप भारी वर्षा भए पहिरो, सहरी डुबान र नदीमा पानीको सतह बढ्ने जोखिमसमेत रहनेछ। त्यसैले आँधीको मार्गसँगै वर्षाको मात्रा र हावाको तीव्रतामा निरन्तर निगरानी आवश्यक देखिएको छ।




प्रतिक्रिया राख्नुहोस्