जन सरोकार

लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना, छ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म ७८ वटा विपद्का घटना भएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र (पिइओसी) का अनुसार विपद्का घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँचको मृत्यु र एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । यस्तै १० घर पूर्ण र आठ घर आंशिक रूपमा क्षति भएका छन् भने १०० घर जोखिममा रहेका प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन शाखाका अधिकृत विजयसिंह ठकुरीले जानकारी दिनुभयो ।

डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन् । डुबानका कारण नौ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन् । त्यस्तै, ७० घर जोखिममा रहेका विवरणमा उल्लेख छ ।

हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका अधिकृत ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार हुरीबतासका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षति भएका छन् ।

विपद्का कारण प्रदेशभर एक हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । सोह्र वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन् ।

जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका केन्द्रका अधिकृत ठकुरीले जानकारी दिनुभयो । त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन् ।

मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ । पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७०० जना प्रभावित भएका ठकुरीले उल्लेख गर्नुभयो । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

विपद्का कारण प्रदेशभर अनुमानित रु ४० लाख १७ हजारबराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ । दाङमा रु २२ लाख १० हजारबराबरको क्षति भएको विवरणमा उल्लेख छ । नवलपरासीमा रु पाँच लाख ६० हजार, बर्दियामा रु पाँच लाख ५७ हजार क्षति भएको छ ।

त्यस्तै दाङ, रुकुमपूर्व र रूपन्देहीमा एक-एक वटा विद्यालय क्षतिग्रस्त भएका छन् । बाँकेमा दुई तथा नवलपरासी, अर्घाखाँची, रुकुमपूर्व र रूपन्देहीमा एक-एक वटा उद्योगमा क्षति पुगेको छ ।

अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको पिइओसीले जनाएको छ । पाल्पामा दुई वटा सवारीसाधनमा क्षति भएको छ ।

विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । छ वटा गोठ पूर्ण र चारवटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशुचौपाया क्षति भएका छन् । बाढीका कारण दाङ, गुल्मी र रुकुमपूर्वमा एक-एक वटा पुलमा क्षति पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.