अर्थकर्पोरेट/पर्यटन

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले १८ हिमाल आरोहणका लागि ४७४ पुरुष र १६३ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको छ ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना, बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले आरोहण अनुमति लिएका छन् ।

यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् रु २३ करोड ८५ लाख १७ हजार ७९७ नेपाली आम्दानी गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.